सहिष्णुता देउवाबाट सिक्नु नि !

सहिष्णुता देउवाबाट सिक्नु नि !

शेरबहादुर देउवा २ चोटिसम्म दरबारलाई सत्ता र हालै एमालेलाई आफ्नो पार्टीको अन्धकार भविष्य बुझाउनमा आलोचित पात्र हुनुहुन्छ, तर सँगसँगै राजनीति बुझ्न र चलाउन जान्ने खेलाडी पनि मानिनुहुन्छ । ‘प्रचण्ड धोकेवाज रहेछन्, त्यस्ताको भर पर्नु गल्ती भयो’ भन्दै उहाँकहाँ सान्त्वना दिन र कराउन जानेहरूले पाउने गरेको जवाफ सुन्नेहरू भन्छन्, ‘नेता हुन् त यस्ता...†’ अर्थात्, उनीहरूले ‘अपत्यारिलो’ जवाफ पाइरहेका छन् । त्यसमध्येका हुन्, बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता निर्वाचित भएर बधाई लिन पुगेका बहादुरसिंह लामा । उनलाई देउवाले भन्नुभयो, ‘यसमा प्रचण्डको केही दोष छैन ।

गाली नगरौं, उनलाई प्रधानमन्त्री हुनु थियो, भएरै छाडे । बरु हाम्रै साथीहरूको खेल राम्रो थिएन ।’ गठबन्धन बनाउँदादेखि त्यो तोडिने दिनसम्म देउवालाई गलत देख्नेहरूले गठबन्धनमा खतरा आएको सूचना पाउँदासमेत पार्टी हितलाई ख्याल गरेर कुनै भूमिका वा कदम नचालेको प्रति उहाँको सबभन्दा ठूलो गुनासो रहेछ । प्रचण्डले गठबन्धन तोडेपछि पोखरा पुगेका महामन्त्री गगन थापाले त्यहाँको लिटरेचर फेस्टिभलमा भनेका थिए, ‘यस्तो हुँदैछ भन्ने थाहा पाएको थिएँ ।’ देउवाको आक्रोश छ ‘थाहा पाएको मान्छेले चूपचाप बस्ने कि मिलाउनेतिर लाग्ने ?’ हुन पनि खाइपाइ आएको सुखसुविधा गुम्दा कम्युनिष्ट नेताहरू आफ्नै सहकर्मीमाथि धारेहात लगाउन पछि पर्दैनन् तर देउवाले कोही कसैमाथि साह्रै तीतो पोखेर यत्तिका दिनसम्म सार्वज्निक प्रतिक्रिया दिएको सुनिएको छैन । 

यदि प्रचण्डमाथि ओलीबाट धोका भएमा वा कुनै कारण यो सरकारलाई समस्या आएमा कांग्रेस, माओवादी, जसपा, समाजवादी र तमलोपा भए सरकार बनाउन संख्या पुग्ने हिसाब देउवासँग छ । त्यो स्थितिमा राप्रपा र रास्वपा चाहिँदैन । अर्कातिर, नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर सर्लाहीबाट जितेका अमरेशकुमार सिंहले सत्ता गठबन्धनसँग कुनै एउटा संसदीय समितिको सभापति दिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेका छन् । उनको प्रचण्डसँग राम्रो सम्बन्ध छ, केपीसँग त्योभन्दा अच्छा छ ।

अहिलेको गठबन्धनमा प्रचण्डसँग मात्रै राम्रो बनाएर हुँदैन, केपीलाई नरिझाई केही पनि पाइँदैन भन्ने बुझेका उनले दुबै नेतासामु ढुक्कै ५ वर्ष खान पाउने गरी त्यस्तो मनशाय राखेको बताइन्छ । उता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि १४ सीटवाला भएका कारण आफू उपप्रधानमन्त्रीसहित विक्रम पाण्डेलाई मन्त्री बनाएर सरकारमा जाने मनस्थितिमा छन् । यसैबीच, राजनीति गर्नेहरूले राजनीतिक भूमिकामात्रै खोज्दैनन्, फरक शैलीबाट पनि देश र समाजमा स्थापित हुन सकिन्छ । यस्तो कुरा बुझ्ने राजनीतिज्ञ हो, डा.बाबुराम भट्टराई । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पुगेका बाबुरामले आफ्ना एकमात्र सांसद महिन्द्रराय यादवका लागि उपप्रधानमन्त्री मागेको बजार हल्ला छ । तर, सत्यता शायद त्यसभन्दा निकै फरक र अर्को पनि छ ।

गोरखाबाट चुनाव लड्न ठिक्क पर्नुभएका र त्यसनिम्ति माओवादीको एकल चुनाव चिह्नमा आफ्नो पार्टीलाई सामेल गराउनु भएका बाबुरामले अन्तिममा त्यहाँबाट प्रचण्डलाई उठाएर जिताउने बाटो रोज्नुभयो । धेरैले अनुमान गरे, राष्ट्रपति हुनका लागि यस्तो गरेका होलान् । तर, भित्रभित्रै विकसित घटनाक्रम फरक छ । ०७४ को चुनावमा पराजित भएपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले इच्छा राख्नुभएकै ठाउँमा जान अहिले बाबुराम अन्तिम तयारी गर्दैै हुनुहुन्छ । त्यो हो, राष्ट्रिय विकास निर्माण प्राधिकरणको प्रमुख हुने ।

सरकारले अगाडि सारेका ठूला परियोजनालाई समयमै सम्पन्न गर्ने, विभिन्न परियोजनामा भएका ढिलासुस्ती र अनियमिततालाई हल गर्ने र नयाँ परियोजना घोषणा गराउने जस्ता काम गर्नका लागि बाबुरामले यस्तो भूमिका रोज्नुभएको र लबिङ थालिएको बुझिएको छ ।

टिप्पणीहरू