बोलेर मात्रै लोकतन्त्र कहाँ हुन्छ र बलियो ?
लोकतन्त्रमा बहुमतको कदर हुन्छ भन्ने गरिए पनि लोकतान्त्रिक गणतन्त्र भएको नेपालमा यस्तो चलन देखिएन । दल र तिनका नेताहरू समग्र राजनीतिको मूलधारमा हावी देखिए पनि क्रमशः यिनको धरातल खुकुलो हुँदै गइरहेको छ । गणतन्त्र र बहुदलीय प्रणालीप्रति नै वितृष्णा जाग्दो अवस्था देखिएको छ ।
अचेल कतिपय कुरा भीडले नियन्त्रण गर्ने रोग बढेको भए पनि दूरदर्शी विचार भएका नेताहरूले भीडलाई डो¥याउने सामथ्र्य राख्नुपर्छ । तर हाम्रा नेताहरू मनोगत उडानमा व्यस्त छन् । राजनीतिक विचार र सिद्धान्तभन्दा पनि निहित स्वार्थमा लिप्त देखिन्छन् । शत्रु र मित्रबीचको फरक देख्न छाडेका छन् । न्याउरी मारेर सर्पहरूलाई दूधपान गराउँदै छन् ।
केही दल र तिनका नेताहरूको सिद्धान्त र नीति हेर्दा राम्रा भए पनि व्यवहारिक कार्यान्वयन ३६० डिग्री उल्टो छ । र, उनीहरूको भनाइ छ– राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैनन् । यसो भन्दै दूध र गोबर एकै ठाउँ मिसाएपछि घर लिपपोत गर्ने कुरा कसरी स्वस्थकर हुन सक्छ ? यस्तै प्रश्नको श्रृंखला उब्जिएको बेला एक–दुई ढाँटीहरू आँटी भएर निस्की धमिलो खोलामा माछा मार्न सफल भएका छन् ।
यसरी सफल हुनेले नेपालका यी राजनीतिक दल र तिनका नेतालाई अप्रत्यक्ष रूपमा धन्यवाद दिएका छन् । किनभने गरिब नहुँदा कोही पनि दानवीर जन्मन सक्दैनन् । दल र नेताले राम्रो काम गरेको भए बालेन र हर्कहरू जन्मने थिएनन् । यिनलाई जन्म दिने दल र नेताहरूले अझै पनि एउटा सफेद झुठ बोल्न छाडेका छैनन् ।
बहुमतका नाममा शासन चलेको हुन्थ्यो भने काठमाडौं, धरान, कैलालीका मेयरको सामु दलका वडाध्यक्षहरु किन निहुरीमुन्टी न हुँदैछन् ? उनीहरूले तोकको भरमा चलाएको सत्ताबारे किन बहुमत सदस्य भएको दलीय कार्यपालिकाहरू केही बोल्दैनन् ? कार्यपालिकाहरूमा दलको बहुमत छ, मेयर एक्लै छन् तर हुकुम त मेयरकै चलेको छ, ठेलावाली गरिब महिलालाई रुवाइएको छ तर दलहरू बोलेका छैनन्, उनीहरूको मौनता रहस्यमय देखिन्छ । न तिनले त्यसो गर्नु ठीक हो भनेका छन्,न बेठीक भो भनेर मुखै फोरेका छन् ।
मेयरको लाइन नै सबैको लाइन हो भने उपमेयर त दलकै छन्, तिनको भूमिका के ? जस पाए मेयरले पाउने हो तर अपजसको भागीदार त कार्यपालिकाका सदस्यहरू हुने हुन् । यसका निम्ति दलको प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरू नैतिक जिम्मेवारी लिन तयार हुने कि नहुने ? परिषद्का सदस्यहरू तयार हुने कि नहुने ? प्रश्न गम्भीर बनेको छ ।
यसको निरूपणका लागि दल र नेताले बेलैमा सोच्न आवश्यक छ । नभए बहुमतले होइन लोकतन्त्रमा अल्पमतले पनि शासन गर्छ भन्ने गलत नजिर स्थापित हुन सक्छ । दलीय पक्षधरहरूको निम्ति यो भन्दा लाजमर्दो विषय अरु हुन सक्दैन ।
टिप्पणीहरू