पहिलो ठग जसको अस्पष्ट तस्बिर निकालेको छ अख्तियारले

पहिलो ठग जसको अस्पष्ट तस्बिर निकालेको छ अख्तियारले

पैसा जान्छ, तर लैजान्छ कसले ? यो कुरा पत्ता लगाउन अहिले अख्तियारलाई महाभारत छ । सरकारी अड्डाबाट भुक्तानी भएको रकममाथि नै चण्डाल लाग्दा अख्तियारले पहिलोपटक कोही व्यक्तिको हुलिया सार्वजनिक गर्दै अनुसन्धान थालेको हो ।

घटना हो, बल्खुस्थित त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको । उक्त कार्यालयले सञ्चालन गर्ने विभिन्न तहका परीक्षाको उत्तर पुस्तिका जाँच्ने नाममा यस्तो घोटाला भएको पाइयो । त्रिविले उत्तर पुस्तिका जाँच्नका निम्ति विभिन्न क्याम्पसका अध्यापक तथा विज्ञहरुको एउटा सूची (रोष्टर) बनाएको हुन्छ । त्यो काम गोप्य शाखाले गर्ने हो ।

उक्त शाखाले फलानो विज्ञले यतिवटा उत्तर पुस्तिका जाँच्नुभयो भनी प्रमाणित गरेपछि त्यस आधारमा लेखा शाखाले सम्बन्धित विज्ञका नाममा चेकबाट रकमको भुक्तानी नै हो तर पछिल्लो समयमा गोप्य शाखाबाट पुस्तिका जाँच्ने विज्ञ भनी लेखालाई पुगेको विवरणका आधारमा चेक जारी हुन थाल्यो । बैंकले रकम भुक्तानी पनि ग¥यो ।

तर, सम्बन्धित व्यक्तिले पैसा पाएनन् । त्यसरी भएको भुक्तानीमध्ये एक वर्षमा २६ लाख रुपैयाँको हिसाब गोलमाल छ । चेक जारी भई बैंकले भुक्तानी दिएको छ, तर सम्बन्धित व्यक्तिको हातमा रकम परेको छैन । यसबारे अख्तियारमा उजुरी दर्ता भयो । अख्तियारले छानवीन प्रक्रियाका अनेकन उपाय अबलम्बन ग¥यो । सबै कुरा पत्ता लाग्छ, चेक लैजाने र बैंकमा साट्ने मान्छे को हो भनेर प्रमाणित हुनै सक्दैन ।

अनुमानका आधारमा कोही व्यक्तिलाई नियन्त्रणमा लिएर छानवीन गरौँ, त्यो निर्दोष भइदेला । नगरौँ, यति ठूलो घोटाला छ । त्यसपछि अख्तियारले एउटा उपाय निकाल्यो, सिसिटिभी फुटेजमार्फत । त्रिविमा चेक बुझ्न जाने र बैंकको भुक्तानी बुझिलिने व्यक्तिलाई बैंकको सिसिटिभी फुटेजबाट पहिचान ग¥यो । ह्याट लगाएर बैंकमा पुगेका ती व्यक्तिको अनुहार प्रष्टसँग खिचिएको छैन । त्यसैले मूल तस्वीरका आधारमा अख्तियारले ती व्यक्तिको फोटोलाई सामान्य सम्पादन गर्दै सार्वजनिक सूचना प्रकाशित ग¥यो, गोरखापत्र र कान्तिपुर दैनिकमा ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको उक्त व्यक्तिलाई भेटेमा नजिकैको प्रहरी कार्यालय वा सूचनामा उल्लेखित फोन नम्बरमा खबर गर्न भनिएको छ । पहिलोपटक खबर गर्ने व्यक्तिलाई अख्तियारले ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

टिप्पणीहरू