पार्टी एकताका लागि दुई समाजवादी दुईतिर
तत्कालीन पाँचदलीय गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै राजनीतिक ध्रुवीकरणका संकेतहरु देखिन थालेका छन् । समाजवादी केन्द्र निर्माणको बहसमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले एकैदिन औपचारिकरुपमा पार्टी एकताको ढोका खुला गरेपछि राजनीतिक ध्रुवीकरणको सम्भावना बढेको हो ।
एमाले,माओवादी केन्द्रसहित वामपन्थी एकताको चर्चा चलिरहेका बेला एकीकृत समाजवादीले हाललाई जसपासँग एकीकरण गर्ने गरी पहल थालेको चर्चा छ । सो पार्टीको हिजो सम्पन्न पोलिटब्युरो बैठकले वामपन्थी शक्तिहरुबीच एकताको पहल गर्न निर्णय गरेको थियो ।
यता,जसपाले पनि एकीकृत समाजवादीसँग एकताका लागि छलफल अघि बढाउन तीन सदस्यीय वार्ता समिति बनाएको छ । सो पार्टीको हिजो बसेको राजनीतिक समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेको वार्ता समिति गठन गरेको थियो ।
प्रतिनिधिसभामा १२ सिट रहेको जसपा र १० सांसद भएको समाजवादीबीच एकता भए एकीकृत पार्टी संसद्को चौथो ठूलो दल बन्नेछ । अहिले २० सिटसहित रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल हो ।
यता,चुनावअघि नै माओवादीसँग पार्टी एकताको सहमति गरेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले त्यसबारे छलफल गर्न बैठक बोलाएको छ । पार्टी एकताको एजेण्डाबारे छलफल गर्न २४ पुसमा राजनीतिक समिति बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
टिप्पणीहरू