एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई सित्तैमा प्लस २
पर्वत जिल्लाको कुश्मा नगरपालिकाले गत वर्षको एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि झण्डै ४ लाख बराबरको छात्रवृत्ति बाँडिएको हो ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई छात्रवृत्ति दिइएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले २०७८ को माध्यमिक तह परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट तीन दशमलव ६५ वा सोभन्दा बढी जिपीए ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताए ।
उनले भने,‘पढाईमा अब्बल रहेका विद्यार्थीलाई अझै प्रोत्साहन गर्न कक्षा १२ सम्म मासिक २ हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको हो । योसँगै प्रतिविद्यार्थी ३० हजारका दरले कूल तीन लाख ९० हजार छात्रवृत्तिस्वरुप वितरण गरिएको हो ।’
राम्रो पढाई हुँदाहुँदै पनि आर्थिक अभावका कारण बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस् र सामुदायिक विद्यालयमा अध्ययन गर्न विद्यार्थीलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उनको भनाइ छ । छात्रवृत्ति एसईई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तर कक्षा ११ उत्तीर्ण हुन नसके कटौती हुने नगरपालिकाले जनाएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने १३ मध्ये ११ विद्यार्थी सदरमुकाम कुश्मा बजारमा रहेको नारायणी नमूना माध्यमिक विद्यालयका हुन् । नारायणीका अभिषेक लामिछाने,आविष्कार पौडेल,सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा,मानव पोखरेल,प्राची श्रेष्ठ, प्रसन्न श्रेष्ठ,निशा आचार्य र आशिष आचार्यसँगै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालयका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएको नगरपालिकाले जनाएको छ ।
टिप्पणीहरू