गृहमन्त्रीले हिजो, क्रिकेट संघले आज उठायो म्याच फिक्सिङको कुरो

गृहमन्त्रीले हिजो, क्रिकेट संघले आज उठायो म्याच फिक्सिङको कुरो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा राजधानीमा भइरहेको क्रिक्रेट प्रतियोगितामा भएको म्याच फिक्सिङको छानबिन गर्न आदेश दिएका छन् ।

पुस ९ गतेदेखि त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाइएकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत् अनुसन्धानका लागि प्रहरी मुख्यालयलाई निर्देशन दिएको बताइएको छ । मन्त्रीको निर्देशन हिजो प्राप्त भएको प्रहरी मुख्यालय स्रोतले पुष्टि गरेको छ ।

तर नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता बारेमा फैलाइएका अनेकौं भ्रामक तथा मिथ्या सूचनाबारे ध्यानाकर्षण भएको जनाएको छ । प्रतियोगितामा म्याच फिक्सिङ भएको भन्ने खबरहरु बाहिर आएपछि क्यानले आपत्ति जनाएको छ । 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आज विज्ञप्ति जारी गर्दै राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको गतिविधि अन्त्य गर्न माग गरेका छन् । संघ वा राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरु नफैलाउन आग्रह गर्दै उनले म्याच फिक्सिङको प्रमाणसहितको उजुरी संघको केन्द्रीय कार्यालयमा बुझाउन आग्रह गरेका छन् । 

‘म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ’, उनले भने ।

टिप्पणीहरू