शीतलहरबाट जोगिन भरतपुर महानगरपालिकाको आग्रह
भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
महानगरको विपद् व्यवस्थापन शाखाले मध्यजाडोमा शीतलहरको प्रभाव पर्न सक्ने भन्दै चिसोबाट बच्न नागरिकलाई सचेत गराएको हो । महानगरपालिकाले चिसोबाट बच्न बाक्लो तथा न्यानो कपडा लगाउन, हावा ओहरदोहर हुने गरी कोठा न्यानो बनाउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त सेवन गर्न, सुत्ने कोठामा आगो, मकल, कोइला, हिटर तापिएको अवस्थामा झ्याल ढोका बन्द नगर्न आग्रह गरेको छ ।
त्यस्तै, आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछाड्न, धुम्रपान तथा मध्यपान सेवन नगर्न, स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेको छ । महानगरको अनुरोधमा भनिएको छ, ‘शीत लहरका बखत सकेसम्म घर बाहिरका खुल्ला स्थानमा धेरैबेर नबस्न र पाल्तु पशुपन्छीलाई पनि खुल्ला ठाउँमा नराखी गोठ, टहरामै राखी पर्याप्त घाँसपराल र दानापानी दिनुहोला ।’
टिप्पणीहरू