बिनोद चौधरी हेलिकोप्टर चढेर किन धाए संखुवासभा ?

बिनोद चौधरी हेलिकोप्टर चढेर किन धाए संखुवासभा ?

गत बुधवार डलर अर्बपति तथा नेपाली काँग्रेसको तर्फबाट पश्चिम नवलपरासी १ का सांसद विनोद चौधरी पाँच जनाको टोलीसहित हेलिकोप्टरमा संखुवासभा पुगे । उनी आफ्नो र परिवारको धेरै लगानी रहेको नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना,संखुवासभाका काँग्रेस नेता,पूर्वमन्त्री तथा सांसद दिपक खड्कालगायतलाई बोकेर पिलुवा खोला पुगेका हुन् । 

बिहान गएर साँझ काठमाडौं फर्केका चौधरीले त्यहाँ आयोजित कार्यक्रममा स्थानीय मेन्छियाम हाइड्रोपावरको उद्घाटन गरेका थिए । उनलाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको  थियो । ४ दशमलव ७२ मेगावाटको उक्त जलविद्युत परियोजना १ अर्ब बढीको लागतमा निर्माण गरिएको जानकारी दिइएको छ । उक्त परियोजनामा चौधरीको मुख्य लगानी रहेको नबिल बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कन्सोर्टियम ऋण उपलब्ध गराएका छन् । 

यता,नेपाल राष्ट्र बैंक स्रोतले भने चौधरी र उनको व्यापारिक समूहको लगानी भए उक्त जलविद्युतमा नबिलले ऋण प्रवाह गर्न नमिल्ने बताएको छ । आफैं ‘प्रमोटर’ भएको बैंकबाट ‘प्रमोटर’ भएको अर्को कम्पनीलाई ऋण प्रवाह गर्न अहिलेको निर्देशनले मिल्दैन । तर,जलविद्युत वा अन्य कम्पनीमा लगानीको अंश थोरै भएको अवस्थामा र त्यस्ता कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नभएको खण्डमा सामान्य कर्जा प्रवाह गर्न बाधा नहुने स्रोतले उल्लेख गरेको छ । जलविद्युत लगानीकर्तामध्ये केहीले उक्त कम्पनीमा सांसद दिपक खड्का मुख्य लगानीकर्ता रहेको दाबी गरेका छन् । नबिल बैंकबाट ऋण उपलब्ध गराउन सहयोग गरेका कारण चौधरीलाई निम्तो दिएको उनीहरुको बुझाइ छ ।

खड्कासँगै पहिले चार्टर्ड एकाउण्टेण्ट दिलिप ढुंगानाको राम्रै लगानी रहेको चर्चा  छ । ढुंगानाले दुई वर्षअघि कम्पनीको सेयर बिक्री गरेका थिए । त्यसपछि भाइको नाममा उक्त जलविद्युत कम्पनीमा ५ देखि ७ प्रतिशत लगानी रहेको कम्पनी स्रोतले बतायो । ‘एउटै पार्टीका सांसद र नबिल बैंकबाट सजिलैसँग ऋण उपलब्ध गराएकाले उदघाटनमा कैंची समाउन दिएर चौधरीको मान राखिदिएका हुन्,’ सोही स्रोतले भन्यो ।

तर विगतलाई हेर्ने हो भने  सुको नाफा नहुने ठाउँमा कसैले डोली चढाउँदै बाजा बजाए पनि बिनोद चौधरी नजाने सिजी ग्रुपमा लामो समय कर्मचारी रहेका एक जना पूर्वप्रहरी अधिकृतले बताए । उनी भन्छन्, ‘दिपक खड्कासँगको राजनीतिक लगनगाँठोको भरमा डलर अर्बपति हेलिकोप्टर चढेर संखुवासभा गएका हुन् भनेर विश्वास गर्ने ठाउँ देखिँदैन । नाफा नोक्सानको फेहरिस्त ढिलोचाँडो निस्कन्छ ।’

टिप्पणीहरू