राहदानी विभागमा प्रधानमन्त्री कार्यालयको छड्के

राहदानी विभागमा प्रधानमन्त्री कार्यालयको छड्के

सफ्टवेयरमा समस्या आएको भन्दै राहदानी विभागले सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ ।

त्यसक्रममा टोलीले विभागका महानिर्देशक सुरेन्द्र यादव ,प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग समस्याका बारेमा विस्तृत छलफलसमेत गरेको छ । छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउन टोलीले विभागका महानिर्देशकलाई निर्देशन दिएको बताइएको छ ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो क्याबिनेट बैठकले राहदानी,सवारी चालक अनुमति पत्र,राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । हिजो मात्रै प्रधानमन्त्री प्रचण्डले सरकारका सचिवहरुलाई सेवा प्रवाह छरितो र गुणस्तरीय बनाउन निर्देशन दिँदै अन्यथा सम्बन्धित कर्मचारी नेतृत्वलाई कारवाही गर्ने चेतावनी दिनुभएको थियो । 

तर,प्रधानमन्त्रीले निर्देशन दिएको केही घण्टा नबित्दै विभागले राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेपछि आज प्रधानमन्त्री कार्यालयको टिम अनुगमनमा गएको हो ।

टिप्पणीहरू