सुदूरमा सरकार गठन गर्न तातो लाग्यो,रेशम भएनन् टसको मस

सुदूरमा सरकार गठन गर्न तातो लाग्यो,रेशम भएनन् टसको मस

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै सत्ताको जोडघटाउ शुरु भएको छ । सत्ता र प्रतिपक्ष दुवै गठबन्धनसँग सरकार बनाउन आवश्यक बहुमत नभएकाले तानातानको अवस्था बनेको हो । 

प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर सात दिनभित्र सरकारमा दावी प्रस्तुत गर्न आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आगामी पुस २७ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न प्रदेश प्रमुख जोशीले सूचना जारी गरेका छन् । 

तर,केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको तटस्थ बस्ने निर्णयले त्यहाँ सरकार नै नबन्ने अवस्था छ । सरकार गठनका लागि निर्णायक सिट लिएर बसेको उन्मुक्ति पार्टीको कसैलाई पनि समर्थन नगर्ने निर्णयले सरकार गठन प्रक्रिया नै अन्यौलमा परेको हो । 

५५ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ । केन्द्रमा गठबन्धन गरेका माओवादी,एमाले र राप्रपाको कूल सीट २२ छ । जुन,बहुमतका लागि पर्याप्त संख्या होइन । त्यसैगरी प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेको अवस्थामा पनि बहुमत पुग्ने सम्भावना छैन । प्रदेशसभामा कांग्रेसका १९ र  नेकपा एसका चार सांसद छन् । नागरिक उन्मुक्ति पार्टीसँग ७ सीट छ । यो संख्या सत्ता र प्रतिपक्ष दुबै गठबन्धनका लागि बहुमत पुर्याउन पर्याप्त हुन्छ ।

टिप्पणीहरू