मन्त्रालय नफुटाइने गृहमन्त्रीको भनाइ

मन्त्रालय नफुटाइने गृहमन्त्रीको भनाइ

सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाउने बाहिरी चर्चामा कुनै सत्यता नरहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

आज साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि गृहमन्त्री लामिछानेले कुनै हालतमा मन्त्रालय विभाजन नगरिने जानकारी दिएका छन् । उनका अनुसार आजको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने विषयमा छलफल भएको छ । 

त्यस्तै, केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको गृहमन्त्रीले बताए ।

यसअघि प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि मन्त्रालय फुटाउने कुनै योजना नरहेको बताएका थिए । संघीय सरकारमा अधिकतम २५ जनालाई मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।
 

टिप्पणीहरू