नयाँ सरकारको सामुन्ने आर्थिक चुनौतीको पहाड

नयाँ सरकारको सामुन्ने आर्थिक चुनौतीको पहाड

मुलुक बढ्दो सरकारी खर्च र घट्दो राजस्व परिचालनको अवस्थामा छ । यो समस्या अघिल्ला अर्थमन्त्री युवराज खतिवडाको पालामा शुरु भएर निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा चुलिएको हो । 

शर्माले कार्यकालको अन्तिममा आएर विभिन्न राजनीतिक उद्देश्यले राखिएका परियोजनामा तीन खर्बको स्रोत सुनिश्चितता गरिदिएपछि आम्दानी र खर्चको अवस्था डाँवाडोल बनेको अर्थमन्त्रालय स्रोतले बताएको छ । ‘मुलुकको आर्थिक अवस्थामा आँच आउने गरी राजनीतिक आयोजनालाई ढुक्क बनाएर गए । त्यस कारण नयाँ सरकारलाई आर्थिक चुनौती पहाड बनेर उभिएको छ,’स्रोतले उल्लेख गर्यो ।

 
त्यसरी गलत ढंगले बजेट सुनिश्चितता गरिदिँदा बजेट कार्यान्वयनमा तीन खर्ब १० अर्बको वित्त व्यवस्थापनको खाडल उत्पन्न भएको छ । स्वयम् राजश्व सचिव रामेश्वर दंगालले अनौपचारिक रुपमा अस्ति सचिवहरुको छलफलमा उक्त जानकारी गराएका हुन् ।

यस पटक सरकारले राखेको राजश्व संकलनको उध्देश्यमा ३ खर्ब अपुग हुने अवस्था बन्दै गएको छ । १७ खर्बको बजेटमा राखिएका कतिपय शीर्षक कार्यान्वयनमा नयाँ सरकारलाई धौ धौको अवस्था छ । खर्चको हिसाबले गत मंसिर मसान्तसम्म ४० अर्ब न्यून देखिएको छ । अहिले नै एक सय अर्बभन्दा बढी राजश्व कम उठ्ने अवस्था बनिसकेको छ । यो भनेको लक्ष्यभन्दा एक सय पाँच अर्ब रुपैयाँ कम हो । जुन पोहोरको असुलीभन्दा कम देखिन्छ । 

एकातिर राजश्व नपुग्ने अर्कातिर, खर्च बढ्ने क्रम विगतमा युवराजको पालादेखि भएको अर्थविद्हरु बताउँछन् । खतिवडाले तानतुन र भाषा मिलाएर ढाकछोप गरेको अर्थतन्त्रको अस्वाभाविक सन्तुलन शर्माले खोतलखातल पारेर उदाङ्गो बनाइदिएका थिए ।

चुनौतीपूर्ण अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेललाई उनै खतिवडाले खिसिटियुरी गर्न थालेका छन् । ‘पिएचडी गरेकाले सम्हाल्न धौ धौ पर्ने देशमा सामान्य पढाइवालाले कसरी अर्थतन्त्र सबल बनाउलान् ?’ आफूहरुसँग धुम्बाराहीको घरमा भेट्न आउनेहरुलाई खतिवडाले यसो भन्ने गरेका छन् । 

तर उनैले सिंहदरबार पुगेर पौडेलसँगको भेटमा अर्थतन्त्रभन्दा मन्त्री ‘उकास्ने’ काम राम्रैसँग गरेको देखिन्छ । चालु आर्थिक वर्षको अवधि छ महिना मात्रै बाँकी भएकाले पूरक बजेट ल्याउन उल्टो सल्लाह उनले दिएको बताइन्छ ।

जबकि आगामी वर्षको बजेटको निम्ति फागुनदेखि काम थाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पुरक बजेट ल्याएर केही पनि गर्न नसकिनेमा स्वयम् अर्थमन्त्री पौडेल जानकार भएको उनी निकटस्थहरु बताउँछन् । तर खतिवडाले सिंहदरबारदेखि बालकोटसम्म पूरक बजेटका निम्ति जोड दिँदै हिँडेको पाइन्छ ।

‘मन्त्रीले बोलाउँदा गएर सल्लाह दिएको देखाउने । बाहिर निस्केपछि सराप्नेबाट के पार लाग्छ ? पनि भन्ने दोहोरो चरित्र देखाएको पाइयो,’ खतिवडालाई धुम्बाराहीमा भेटेका एक जना एमाले नेताले जिज्ञाशा राखे ।

टिप्पणीहरू