कोदोको उत्पादन र प्रचारमा भारतीय योजना

कोदोको उत्पादन र प्रचारमा भारतीय योजना

भारतले कोदोको फाइदाबारे जनचेतना जगाउन यो वर्ष विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सुपरफुड’ का रुपमा परिचित कोदोका गुणहरु पूरै विश्वलाई जानकारी गराउने उद्देश्यका साथ भारतले नयाँ खालको कार्यक्रम गर्न लागेको हो । 

प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई ‘इन्टरनेशनल इयर अफ मिलेट्स २०२३’ घोषणा गरेको छ । नयाँ वर्षको शुरुवातसँगै भारत र संयुक्त राष्ट्र संघले केन्द्रीय मन्त्रालय, राज्य सरकार र भारतीय दूतावासको सहयोगमा अन्तर्राष्ट्रिय कोदो वर्ष मनाउने योजना अघि सारेका छन् ।

यसले दिगो कृषिमा कोदोको प्रमुख योगदान र फाइदाको ज्ञान फैलाउन मद्दत पुर्याउने विश्वास लिइएको छ । 

कोदो के हो ? 

कोदो विश्वको एक प्रमुख अन्नबाली हो । विशेषतः कोदोबाट रोटी, ढिँडोलगायत परिकारहरु बनाइन्छ । त्यस्तै, जाँड, रक्सीमा पनि कोदोको प्रयोग हुन्छ ।

कोदो भारतमा उत्पादन हुने एउटा महत्वपूर्ण खाद्यान्न हो । यसलाई पहाडी र ग्रामीण भेगका मानिसको प्रमुख खानाका रुपमा लिइन्छ । गर्भवती महिलाका लागि यो उत्तम भोजन भएको पोषणविद्हरुले बताउन थालेका छन् । विभिन्न उमेर समूहका लागि कोदो परिवर्तित खाद्यान्नको रुपमा लिइन्छ । 

शहरीकरणसँगै मानिसमा बढेको अल्छिपनाले विभिन्न रोग निम्तिरहेको छ । त्यस्ता मान्छेको निम्ति कोदो अचुक औषधि बनेको छ । पछिल्लो समय कोदोको फाइदाका विभिन्न अनुसन्धान र खोजी हुन थालेको छ ।

भारतमा किन घट्यो कोदोको उत्पादन ? 

हरित क्रान्ति आउनुअघि भारतमा सबैभन्दा धेरै कोदो खेती हुने गरेको थियो । अन्य अन्नको साटो कोदोकै बढी प्रयोग हुन्थ्यो । तर पछिल्ला वर्षमा कोदोको स्थान अन्य अन्नले ओगटेको छ । उपभोगमा आएको कमीसँगै कोदो मकै, तेलहन र दालजस्ता व्यावसायिक बालीसँग उत्पादनको प्रतिस्पर्धामा पछाडि परको हो ।  

भारतले वार्षिक एक लाख ७० हजार मेट्रिक टनभन्दा बढी कोदो उत्पादन गर्छ, जुन एशियाको कुल उत्पादनको ८० प्रतिशत र विश्वको २० प्रतिशत हो । त्यसैगरी भारत विश्वका धेरै कोदो उत्पादन गर्ने राष्ट्रमध्ये एक हो ।

टिप्पणीहरू