प्रधानमन्त्रीको अधिकाँश समय भेटघाटमै

प्रधानमन्त्रीको अधिकाँश समय भेटघाटमै

प्रधानमन्त्री पदको शपथ लिएलगत्तै विभिन्न पक्षीय भेटघाट तथा छलफलमा सक्रिय रहँदै आउनुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभर पनि राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त हुँदै आउनुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र केही स्वतन्त्र सांसदको समर्थनमा पुस १० गते तेस्रो पटक मुलुकको कार्यकारी पदमा पुग्नुभएका प्रचण्डले आफ्नो कार्यकाल सफल बनाउन सरोकारवाला विभिन्न पक्षसँगको भेटघाटलाई निरन्तरता दिनुभएको हो । 

प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको संकट समाधानका विषयमा अर्थमन्त्री विष्णु पौडेल र दिल्ली जाने क्रममा रहेका गभर्नर महाप्रसाद अधिकारीसँग हिजो बिहान करिब एक घण्टा छलफल गर्नुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान सवा ८ देखि साढे ९ बजेसम्म कुराकानी भएको बताइएको छ । 

त्यसपछि पूर्व पर्यटन तथा नागरिक उड्डन राज्यमन्त्री पर्शुराम तामाङ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । बिहान साढे १० बजे बालुवाटार पुगेका तामाङ करिब पौने घण्टापछि त्यहाँबाट बाहिरिएका हुन् । त्यसलगत्तै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल बालुवाटार छिरेर प्रधानमन्त्रीसँग भेटेलगत्तै १५ मीनेटमा बालुवाटारबाट निस्किएका हुन् ।

त्यतिबेलै माओवादीबाट विद्रोह गरि रोल्पाबाट प्रदेशसभामा स्वतन्त्र उठेर जितेका लुम्बिनी प्रदेशसभा संसद दीपेन्द्र कुमार पुनमगर ‘सिजल’सहितको टोली बालुवाटार पुग्यो । प्रचण्डको उपस्थितिमा पार्टीमा फर्किन बालुवाटार पुगेका उनी करिब २० मिनेट बसेर प्रधानमन्त्रीको हातबाट खादा लगाएपछि त्यहाँबाट बाहिरिएका थिए । 

रोल्पाली टोली निस्केपछि प्रधानमन्त्री भेट्न नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेज बालुवाटार पुगेकी हुन् । सवा १२ बजेतिर बालुवाटार छिरेकी राजदूत पौने १ बजेको हाराहारीमा त्यहाँबाट निस्किएको बताइएको छ । साँझ स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लर पनि 
प्रधानमन्त्री भेट्न बालुवाटार छिरेपछि प्रधानमन्त्री प्रचण्डले राजदूतसँग करिब आधा घण्टा कुराकानी गरेको बुझिएको छ । 

त्यसअघि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । पुस २६ गते विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्रीले अध्यक्ष नेपालसँग सहयोगका लागि आग्रह गर्नुभएको बताइएको छ । साढे २ बजेतिर सिंहदरबार पुग्नुभएका नेपाल सवा ३ बजेको हाराहारीमा निस्कनुभएको थियो । 

दिनभर विभिन्न पक्षसँग छलफल गर्नुभएका प्रधानमन्त्री बेलुकीको समयमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुनुभयो । बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । 

साँझ ५ बजेदेखि ६ बजेसम्म चलेको बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

टिप्पणीहरू