यौटा मन्त्रालय थप्दिए राप्रपालाई पृथ्वी जयन्तीको बिदा नचाहिने

यौटा मन्त्रालय थप्दिए राप्रपालाई पृथ्वी जयन्तीको बिदा नचाहिने

पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सरकारमा जाने बटमलाइन बनाएको पूर्वपञ्चहरुको पार्टी राप्रपाले अन्तत: उक्त अडान छोडेको छ । पुस २७ मा बिदा दिने निर्णय नहुँदै अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर पनि क्याबिनेटमा सहभागी नभएको राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने अडान राख्दै  आएको थियो । तर,सरकारमा जाने निर्णय गरिसकेको राप्रपाले आजको क्याबिनेट बैठकले बिदासम्बन्धी कुनै निर्णय नगरेपछि उक्त अडान छोडेको सो पार्टी स्रोतले बताएको छ। 

स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने राप्रपाको दाबी छ । तर, एमाले र माओवादी केन्द्रका शीर्ष तीनहरुले तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ । 

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री पाए पृथ्वी जयन्तीको बिदाको अडान छोड्ने संकेत दिएको बताइन्छ ।

प्रत्यक्ष र समानुपातिकमा सात-सात गरी १४ सिट जितेको राप्रपामा आधा दर्जन बढी मन्त्रीको आकांक्षी छन् । उपाध्यक्ष बुध्दिमान तामाङ,बिक्रम पाण्डे,महामन्त्री धवलसमशेर राणा, दिपक बोहोरा,ज्ञानेन्द्र शाहीलगायतका मन्त्रीका लागि इच्छुक छन् । अध्यक्ष नै सरकारको नेतृत्व गरेर जाने भएपछि पशुपति समशेरको सम्भावना सकिएको छ भने भ्रष्टाचार मुध्दमा अख्तियारले पुनरावेदनको तयारी गरेपछि पाण्डे झन चम्किएको बताइन्छ । 

तीन मन्त्री र एक राज्यमन्त्रीमा नेताहरुको 'मारामार' हुने अवस्था बनेपछि आलोपालो सहमति भएको चर्चा पनि छ । स्रोतका अनुसार अहिले मन्त्री बनेका सबैलाई एक वर्षपछि फिर्ता बोलाएर नयाँ टीम पठाउने शीर्ष तहमा सहमति बनेको छ । 

लिङ्गदेनले गृहसहित उपप्रधानमन्त्री ताकेका थिए । तर, रवि लामिछानेले बार्गेनिङ्ग गरेर गृह हत्याएपछि लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ ।

टिप्पणीहरू