वाम एकताका लागि वार्ता टोली बनाएको नेकपा एसमा विश्वासको मतबारे दुई धार

वाम एकताका लागि वार्ता टोली बनाएको नेकपा एसमा विश्वासको मतबारे दुई धार

एमाले-माओवादी सहकार्यमा छुटेको नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकताको पहल गर्ने औपचारिक निर्णय गरेको छ । 

आज बसेको सो पार्टीको सचिवालय बैठकले वाम एकताको पहल गर्न महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा वार्ता समिति बनाउने निर्णय गरेको छ । समितिमा उपमहासचिव डा.गंगालाल तुलाधर,डा. विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेका छन् ।

वार्ता समितिलाई विभिन्न वाम शक्तिहरूसँग छलफल गर्ने कार्यादेश दिइएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

 

वाम एकताका लागि पहलकदमी लिने निर्णय गरेको समाजवादीमा सरकारलाई समर्थन दिने विषयमा भने मत बाझिएको छ । समाजवादी स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा धारणा राख्नुभएको थियो । तर,सम्मानित नेता झलनाथ खनाल त्यसको विपक्षमा उभिनुभएको बताइएको छ । 

यसको संकेत प्रवक्ता खतिवडाले पनि गरे । बैठकका निर्णयबारे जानकारी गराउने क्रममा उनले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग विश्वासको मत मागेको बारे थाहा नभएको बताए ।  

'सरकारमा सहभागी तथा विश्वासको मतको विषयमा हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीसंगको भेट्घाट नितान्त व्यक्तिगत हो', उनले भने, 'यो कुनै पार्टीमा छलफल भएको विषय होइन । यसका निमित्त औपचारिक छलफल भएको छैन ।'

हिजोमात्रै अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको थियो । सो भेटमा प्रचण्डले विश्वासको मत दिन आग्रह गर्दा नेपालले पार्टीमा कुरा गरेर निर्णय लिने बताएको चर्चा थियो ।

टिप्पणीहरू