सातै प्रदेशमा सरकार बनाउने प्रक्रिया शुरु

सातै प्रदेशमा सरकार बनाउने प्रक्रिया शुरु

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई निर्वाचन अन्तिम परिणामसहित प्रतिवेदन बुझाएको एक महिनाभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार सातै प्रदेशमा नयाँ सरकार बनाउने प्रक्रिया शुरु भएको छ । 

हालसम्म मधेस प्रदेशबाहेक सबै प्रदेश प्रमुखहरुले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरिसकेका छन् । कुनै पनि प्रदेशमा एउटै पार्टीको बहुमत नभएकाले मिलिजुली सरकार गठन हुने अवस्था छ । 

आजमात्रै कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशमा सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् । बागमतीमा २५ गतेभित्र दावी पेश गर्न भनिएको छ भने कर्णाली र लुम्बिनीमा एक साताको समय दिइएको छ । गण्डकीमा जम्मा चार दिनभित्र दावी पेश गरिसक्न भनिएको छ । 

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गतेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलले बहुमत सदस्यको हस्ताक्षरसहित पुस २७ गते ४ बजेभित्र दाबी पेश गर्न समय तोकेको छ ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका एमाले, माओवादीसहितका दलहरुसँग ५३ सांसद रहेका छन् । यहाँ नेकपा एमालेसँग २९ र माओवादी केन्द्रसँग १० सांसद रहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्तिसँग ४–४ र जनमत र जसपासँग ३–३ सांसद रहेका छन् । लुम्बिनीमा एमाले र माओवादी दुबैले मुख्यमन्त्रीमा दावी गरेको छ । 

यता, कर्णाली प्रदेश प्रमुख तिलक परियारले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न ७ दिनको समय दिएका छन् । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र  स्वतन्त्र सांसद एक/ एकजना छन् ।

केन्द्रीय गठबन्धनमा रहेका माओवादी र एमाले मात्रै मिल्दा पनि सहज बहुमत जुट्ने अवस्था छ ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पनि आजै पुस २५ गते दिउँसो ४ बजेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि बहुमत दलको समर्थनमा दावी पेश गर्न आह्वान गरेका छन् । यहाँ पनि सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था छ । बागमती प्रदेशसभामा ११० सांसद संख्या रहेकाले बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिल्दा सजिलै बहुमत जुट्ने अंकगणित छ । 

बाग्मतीमा कांग्रेसको ३७ एमालेको २७, माओवादी केन्द्रको २१ जना र राप्रपाको १३ सीट छ । नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २४ गतेभित्र नयाँ सरकार गठनका लागि दावी प्रस्तुत गर्न सूचना गरेका छन् । प्रदेशसभाको अंकगणितले यहाँ पनि सत्ता गठबन्धनको सरकार बन्ने निश्चित प्राय: छ । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सदस्य छन् । सबैभन्दा ठूलो दल कांग्रेससँग २७ सिट हुँदा एकीकृत समाजवादीको जम्मा एक सिट रहेको छ । 

सुदूरपश्चिम र प्रदेश १ मा यसअघि नै सरकार बनाउन आह्वान भैसकेको छ । यी दुवै प्रदेशमा पनि केन्द्रीय गठबन्धनको सरकार बन्ने सहज गणित रहेको छ ।

टिप्पणीहरू