कमल थापाको जिल्लामा पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नेको लस्कर
आफूसँग बिच्किएर हिँडेका कमल थापाकै गृह जिल्ला मकवानपुरमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले डेढघण्टा बिताएका छन् । आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनलाई च्यापेपछि थापा एकाएक बिच्किएर नयाँ पार्टी मात्रै बनाएनन्,कम्युनिष्ट कित्तामा उभिएर सूर्यमा भोट माग्दै उनकै चेला अर्थात राजावादी दीपकबहादुर सिंहसँग भर्खरै मात्रै पराजित भए । उनै थापाको गृह जिल्ला अर्थात बागमती प्रदेशको समेत राजधानी रहेको हेटौँडामा पूर्वराजा ज्ञानेन्द्र आइपुग्दा उनलाई भेट्ने लावालस्कर बढी नै देखिएको स्रोत बताउँछ । त्यसो त राप्रपाका तर्फबाट क्षेत्र नं १ मा दीपकबहादुर सिंहले प्रतिनिधि सभामा जीत हासिल गर्नु, बागमती प्रदेशमा नसोचेको मत प्राप्त गरी १३ जना (निर्णायक) बन्नु अनि बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा पूर्वराजाले डेढघन्टा बिताउनुलाई सामान्य अर्थमा मात्रै हेर्न नमिल्ने राजनीतिक विश्लेषण छ ।
आज बिहिबार बिहान टुप्लुक्क हेटौँडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले यहाँस्थित मोटल एभोकाडो होटलमा सर्वसाधारणहरु, राजावादी र राप्रपाका नेताहरुसँग झण्डै डेढ घण्टा बिताए । प्रत्यक्षदर्शीका अनुसार पूर्वराजा ज्ञानेन्द्र बिहान ११ बजे मोटल एभोकाडो होटलमा प्रवेश गरेका थिए । ‘पूर्वराजा आउँदैछन् भन्ने खबर ढिलोगरी पाएका राजावादीहरुको दौडादौड होटलमा प्रष्टै देख्न सकिन्थ्यो’, एक प्रत्यक्षदर्शीले जन आस्थालाई भने । ११ बजे होटल छिरेका पूर्वराजा ज्ञानेन्द्र साढे १२ बजेमात्रै होटलबाट बहिर्गमित भएका थिए । स्रोतका अनुसार सिमरास्थित प्रभू निवासमा पूर्वराजा ज्ञानेन्द्रको बास छ । चितवनबाट हेटौँडा आइपुगेका उनी प्रभु निवासतिरै फर्केका छन् ।
केही दिनअघि चितवन निस्केका पूर्वराजा ज्ञानेन्द्रको प्रभु निवासमा १ महिना बस्ने योजना रहेको बताइएको छ । यो बीचमा आफ्ना रणनीतिक कदम र व्यवसायिक हिसावकिताव समेत सम्पन्न गरिसक्ने गरी उनी प्रभु निवासमा रहने बताइन्छ । स्रोतका अनुसार हेटौँडास्थित एभोकाडो होटलमा छिर्नासाथ पूर्व राजा ज्ञानेन्द्रलाई शाही कालमा झैँ लाइनबद्ध लगाएर पुष्पगुच्छा दिने र सर्वसाधारणले बोल्ने र कुरा राख्न दिने अबसर मिलाइएको थियो । गेटबाट छिर्नासाथ पूर्वराजा ज्ञानेन्द्र सर्वसाधारण शुभेच्छुकहरुको पुष्पगुच्छा लिँदै बिस्तारै सबैलाई रेस्पोन्स गर्दै अघि बढेको बताइन्छ । त्यसपछि सर्बसाधारणहरु शुभचिन्तकहरु फर्केपनि केही राजावादी र राप्रपाका नेताहरु पूर्वराजा ज्ञानेन्द्रसँग केहीबेर भलाकुसारी गरेका थिए ।
स्रोतका अनुसार सांसद दीपकबहादुर सिंह काठमाडौँ गएकाले अनुपस्थित भएपनि पूर्वराजाको दर्शनका लागि राप्रपा जिल्ला अध्यक्ष शिवराम थापा, बरिष्ठ उपाध्यक्ष सागर थापा, प्रदेश सचिव गुन्जबहादुर न्यौपाने, केन्द्रीय सदस्य रामबहादुर थोकर, रामहरि न्यौपाने, महिला नेतृ बालकुमारी बुर्लाकोटी, बरिष्ठ जिल्ला नेता राजन मैनाली लगायतले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको पुष्टि गर्दै प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवार समेत बनिसक्नु भएका राप्रपाका बरिष्ठ जिल्ला नेता राजन मैनालीले भने–‘मैले पनि मौसूफलाई भेटेको हुँ, जनतासँग घुलमिल हुनुपर्ने र जनताले बुझ्ने भाषामा राजनीतिक अपिल गर्नुपर्ने सुझाव उहाँलाई दिएको छु ।’
टिप्पणीहरू