छत्रकोटका स्वयंसेविकालाई पेन्सन

छत्रकोटका स्वयंसेविकालाई पेन्सन

गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने भएको छ । गाउँपालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले पेन्सन दिने निर्णय गरेको हो । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा धेरै योगदान पुप्याउँदै आएकाले उनीहरुलाई अझै प्रोत्साहन गर्ने उद्देश्यले पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले बताइन् । उनले भनिन्,‘६० वर्ष उमेर पुगी अवकाश लिने स्वास्थ्य स्वयंसेविकालाई केन्द्र सरकारले उपलब्ध गराउने एकमुष्ट २० हजारमा गाउँपालिकाले ३० हजार थप गरी ५० हजार उपलब्ध गराउने छ ।'

त्यस्तै, काम गरिरहेका स्वास्थ्य स्वयंसेविकाहरुले उमेर हदभन्दा अगावै जागिर छोडेमा गाउँपालिकाको तर्फबाट एकमुष्ट १० हजार उपलब्ध गराइने छ । ८६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको छत्रकोटमा यही पुस २५ गते पेन्सन दिने व्यवस्थाका लागि कार्यविधि बनाइने गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू