ज्वाईंलाई बोक्ने र रोक्नेको लफडाले माओवादीमा भाँडभैलो

ज्वाईंलाई बोक्ने र रोक्नेको लफडाले माओवादीमा भाँडभैलो

पार्टीमा लामो योगदान गरेका इमान्दारहरुलाई रोकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातेदारलाई मन्त्री बनाउन चलखेल भएको भन्दै माओवादी केन्द्र प्रदेश १ समितिमा भाँडभैलो मच्चिएको छ ।  मोरङ–२ (१) बाट निर्वाचित गणेश उप्रेती ‘सुशील’ र क्षेत्र नम्बर ६ (१) बाट निर्वाचित जीवन आचार्य दुबैले अब बन्ने प्रदेश १ सरकारको मन्त्रीमा आकांक्षा राखेपछि माओवादीमा लफडा भएको हो । उप्रेती र आचार्यलाई मन्त्री बनाउन खोज्ने र रोक्न सक्रिय पक्षबीच ‘मारामार’ को स्थिति बनेको बताइन्छ । 

कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेश १ मा मिलिजुली सरकार बन्ने अवस्था छ । सोहीअनुसार प्रदेश प्रमुखले पुस २४ गतेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर सरकारमा दाबी प्रस्तुत गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरिसकेका छन् । केन्द्रीय गठबन्धनअनुसार एमाले,माओवादी, राप्रपा र जनता समाजवादी पार्टीले मिलेर सरकार गठन गर्ने तयारी भइरहेको छ । त्यसैले माओवादीभित्र मन्त्रीका आकांक्षीहरु पार्टीको शक्ति केन्द्र चाहार्न थालिसकेका छन् । 

प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले मुख्यमन्त्री पाउने मोटामोटी सहमति भएकाले माओवादीले सभामुखसहित चार जना मन्त्री दाबी गरिरहेको छ । प्रदेश समितिले मन्त्री छनोटको मापदण्ड पनि बनाएको छ । 

"उनीहरुले सांसद आचार्य शान्ति प्रक्रियापछि वैवाहिक कारणले प्रचण्ड परिवारमा जोडिएकाले पार्टीमा कुनै योगदान नभएको बताउने गरेका छन् ।"

विगतमा आफूले अभ्यास गरेको लिम्बुवान,किराँत र कोचिलाबाट प्रतिनिधित्व नछुट्ने गरी मन्त्री छान्ने मापदण्ड बनाइएको छ । जसअनुसार इलाम,पाँचथर, ताप्लेजुङ,तेह्रथुम,धनकुटा र सँखुवासभाबाट कम्तिमा एक जना मन्त्री छानिनेछन् । त्यस्तै,भोजपुर,खोटाङ,ओखलढुंगा, सोलु,र उदयपुरबाट पनि न्यूनतम एक जनालाई मन्त्रिपरिषदमा लैजाने माओवादी योजना छ । झापा, मोरङ र सुनसरीबाट एक जना मन्त्री बन्नेछन् । 

माओवादीले प्रदेश १ मा १३ सीट जितेको छ । उनीहरुमध्येबाटै मन्त्री चयन हुने भएकाले आकांक्षीहरुबीच आरोप–प्रत्यारोप,छेकाछेक र रस्साकस्सी चलिरहेको हो । तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, ओखलढुंगाका बाबुराम गौतम, उदयपुरका नारायण बुर्जा मगर,सोलुका करसाङ शेर्पा, मोरङका गणेश उप्रेती र जीवन आचार्य मन्त्री बनेरै छाड्ने दौडमा छन् । 

एउटै प्रदेश र जिल्ला अनि दुबै खस–आर्य समुदायको भएकाले उप्रेती र आचार्यमध्ये एक जना मात्र मन्त्री बन्ने अवस्था बनेपछि समर्थकहरु एकले–अर्कालाई छेक्न खुलमखुला मैदानमा उत्रिएका हुन् । सांसद उप्रेती र उनका समर्थकले जनयुध्दकालदेखि पार्टीमा योगदान गरेका कारण मन्त्रीको असली हकदार हुने दाबी गरिरहेका छन् । 

यता आफू पनि जनताबाट निर्वाचित भएको र सिँगो प्रदेशको विकासका लागि आफ्नो खाँचो रहेको भन्दै सांसद आचार्य र उनका समर्थकले समेत अडान राखिरहेका छन् । बाहिरी चर्चाअनुसार उप्रेती र आचार्यलाई मन्त्री बनाउन माओवादी केन्द्र प्रदेश १ मात्र नभएर केन्द्रीय तहका शीर्ष नेताहरु नै लबिङमा देखिन्छन् ।

आचार्यलाई रोक्न उप्रेती समर्थकहरुले इमान्दार कार्यकर्तालाई मन्त्री नबनाइए बेइमानी हुने र पार्टीभित्र नतावाद झाङ्गिएर जाने बताउँदै आएका छन् । अध्यक्ष प्रचण्ड स्वयम् प्रधानमन्त्री भइसकेकाले कान्छा ज्वाईं आचार्यलाई प्रदेशको मन्त्री बनाए नातावाद, कृपावादमा फसेर बदनाम हुने भएकाले कुनैपनि हालतमा आचार्यलाई रोक्नुपर्ने उप्रेती सर्मथक नेता–कार्यकर्ताहरुको तर्क छ । उनीहरुले सांसद आचार्य शान्ति प्रक्रियापछि वैवाहिक कारणले प्रचण्ड परिवारमा जोडिएकाले पार्टीमा कुनै योगदान नभएको बताउने गरेका छन् ।
 
यता, आचार्य समर्थक नेता–कार्यकर्ताले पनि प्रत्यक्ष उम्मेदवार बनेर पार्टीको चिन्हमा जनताले भोट हाली जितेकाले मन्त्री बन्ने हक कसैले खोस्न नसक्ने जिकिर गरिरहेका छन् । शिक्षित, जुझारु र सक्रिय अनि केन्द्र र प्रदेशबीच ‘पावर सेन्टर’ को ‘पुल’ बन्न सक्ने आशलाग्दो युवा भएकाले आचार्य नै मन्त्री हुनुपर्ने उनीहरुको तर्क छ । 

२०७४ को निर्वाचनमा झिनो मतले पराजित भए पनि निरन्तर आफ्नो क्षेत्रको विकासमा लागिपरेको, निरन्तर पार्टी संगठनमा लागेर २०७९ मा फराकिलो जीत सुनिश्चित गराउन सकेको र पार्टीको केन्द्रीय सदस्यसमेत हुनुले आचार्यलाई उप्रेतीभन्दा वरिष्ठ मान्दै मन्त्रीको खास दाबेदार ठान्नेहरु पनि छन् । 
तर,उप्रेती समर्थकहरुले छोरी गंगाको दबाबमा प्रचण्डले ज्वाँईलाई मन्त्री बनाउन लागेको र खुमलटारलाई खुशी तुल्याएर पद हत्याउने समूहले आचार्यको पक्ष लिएको आरोप लगाइरहेका छन् । 

कतिपयले भने विभिन्न पार्टीबाट प्रवेश गरेका र एकतामा आएकाहरु समेत मन्त्री भइसकेकोले निरन्तर पार्टीमा लागेकाहरुलाई जनयुध्दमा सहभागी नभएकै कारण देखाएर विभेदपूर्ण व्यवहार गर्न नहुने तर्क गरेका छन् ।

हाल आचार्य माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । उप्रेती प्रदेश १ कमिटीका सचिव हुन् । यी दुईमध्ये को मन्त्री बन्लान् ? या दुबैले बाजी मार्लान् ? त्यो भने केही दिनभित्रै थाहा हुनेछ । तर, अध्यक्ष प्रचण्डले ज्वाईंकै कारण जनयुध्दका योध्दा उप्रेतीलाई मन्त्रीबाट वञ्चित गराए उहाँमाथि लाग्दै आएको नातावादको आरोप अझै चर्किने निश्चित भएको बताइन्छ ।

टिप्पणीहरू