प्रधानमन्त्रीलाई अखिलको ज्ञापन
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियुको निर्वाचन पूर्णसमानुपातिक प्रणालीअनुसार गराउन माग गरेको छ ।
त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले यस पटकदेखि पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा स्ववियु चुनाव गराउन माग राखेको हो । आज बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै अध्यक्ष सुदेश पराजुलीले विश्वविद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न प्रत्येक स्ववियुमा सम्बन्धित शैक्षिक संस्थाको उत्कृष्ट एक–एक जना छात्र र छात्रालाई सहभागी गराउन पनि माग गरेका छन् ।
ज्ञापनपत्रमा विद्यार्थीहरुलाई चर्को शुल्क तिर्न बाध्य पारिएको बताउँदै यस्ता विसंगतिको अन्त्य गर्न, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीले आफ्ना हक अधिकारको प्रत्याभूति गराउन पनि स्ववियूको निर्वाचन यथासक्य छिटो गराइनुपर्नेमा जोड दिइएको छ ।
समयमा स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी बढेको र विश्वविद्यालयहरु ज्ञान निर्माण गर्ने केन्द्र हुनुपर्नेमा विभिन्न खाले विसंगति, भ्रष्टाचार र अनियमितताको केन्द्र बनेको अनेरास्ववियूको ठहर छ ।
स्ववियु निर्वाचन १४ वर्षदेखि हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद तथा खेलकुद निर्देशनालयले आगामी चैत ५ मा निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
टिप्पणीहरू