एक्लै कसैले नसक्दा मिलेर आउन मधेसमा म्याद

एक्लै कसैले नसक्दा मिलेर आउन मधेसमा म्याद

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले एक साताको समय दिएर मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले आगामी पुस २८ गते बिहीबार साँझ ४ बजेभित्र सरकारमा दावी पेश गर्न भनेको हो । 

मधेसमा कुनै पनि दलको एकल बहुमत नभएकाले गठबन्धनको सरकार बन्ने अवस्था छ । प्रदेश प्रमुखले पनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावेदारी पेश गर्न आह्वान गरेका छन् । 

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट  मधेशमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी बनेको छ । १ सय ७ सदस्यीय प्रदेशसभामा एमाले २३, नेपाली कांग्रेस २२,जसपा १६,सिके राउत नेतृत्वको जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोसपा ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

 

संघमा सत्ता साझेदारी गरेका दलहरु मिलेको अवस्थामा यहाँ उनीहरुकै नेतृत्वमा सरकार गठन हुने सम्भावना छ ।

टिप्पणीहरू