कांग्रेसका वरिष्ठ नेतासँग माओवादी उपमहासचिवको १५ मीनेट मुलाकात
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर शर्माले पौडेललाई भेटेका हुन् ।
नेता पौडेल र शर्मा दुबै तत्कालीन पाँचदलीय गठबन्धन जोगाउन अन्तिमसम्म प्रयत्न गरेका नेता हुन् । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन क्याबिनेटमा अर्थमन्त्री रहेका शर्मा काँग्रेसलाई प्रधानमन्त्री दिएर भए पनि गठबन्धन तोड्न नहुने लाइनमा उभिएका थिए । पौडेल पनि गठबन्धनको निरन्तरताका लागि बालुवाटार,खुमलटार र कोटेश्वरको दौडाहामा बेस्सरी लागेका थिए ।
तर, त्यसका बाबजुद कांग्रेस-माओवादी गठबन्धन टुटेर एमालेको सहयोगमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।
यता,प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेर पनि सबै राजकीय पद गुमाउने स्थितिमा पुगेको नेपाली कांग्रेसले राप्रपालाई प्रधानमन्त्री दिएर अर्को गठबन्धन बनाउन पहल गरिरहेको चर्चा पनि छ । काँग्रेसका केही नेताहरु त्यसमा सक्रिय रहेको चर्चा चलिरहेका बेला कांग्रेस र माओवादी केन्द्रका प्रभावशाली नेताको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू