आइतबारदेखि पासपोर्ट वितरण सुचारु,विभाग भन्छ,‘समस्या देखिरहन्छ’

आइतबारदेखि पासपोर्ट वितरण सुचारु,विभाग भन्छ,‘समस्या देखिरहन्छ’

गत मङ्गलबारदेखि बन्द भएको पासपोर्ट वितरण कार्य आइतबारदेखि सञ्चालनमा आउने भएको छ । ‘सिस्टम’ मा समस्या आएको भन्दै राहदानी विभागले पुस १९ गतेदेखि रोकेको पासपोर्ट वितरण आइतबारदेखि सुचारु गर्न लागिएको हो । 

विभागकी प्रवक्ता–निर्देशक दुरपदा सापकोटाले आइतबारदेखि नियमित काम सुचारु गरिने बताइन् । यो अवधिभर पनि पासपोर्ट वितरण कार्य पूर्ण रुपमा बन्द नभएको उनको दाबी छ । 

‘सिस्टममा अलिक अगाडिदेखि नै समस्या आइरहेको थियो । बल्लतल्ल काम सञ्चालन गर्दै आइरहेका थियौं’,उनले भनिन्,‘अस्ति धेरै नै समस्या आएपछि राहदानी वितरणको काम रोक्नुपरेको भनी सूचना जारी गर्यौ । तर,पूर्ण रुपमा कामचाँहि बन्द भएको थिएन । अलि अलि काम भइरहेको थियो । सिस्टम बनिसकेको हुनाले आइतबारदेखि निरन्तर रुपमा काम थाल्ने छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारी सेवा चुस्तदुरुस्त राख्न निर्देशन दिनुभएकै दिन विभागको सिस्टममा खराबी आएको थियो । सेवाग्राहीले पासपोर्ट लिन निकै ठूलो सास्ती खेप्नुपरेको गुनासो बढिरहेको अवस्थामा विभागले पासपोर्ट वितरण रोक्दा थप आलोचना भएको थियो । 

विभागले वितरण बन्द गरेपछि भित्री चलखेल भएको आरोपसमेत लाग्यो । गृह मन्त्रालयको आइटी टोलीले अध्ययन गर्न लागेको थाहा पाएर जानाजान सिस्टम बिगारिएको भन्दै आम नागरिकहरुले आक्रोशसमेत पोखेका थिए । 

यता,नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विज्ञप्ति जारी गर्दै विभागका कर्मचारीहरुले जानाजान सिस्टम बिगारेको आरोप लगाएको थियो । गृह मन्त्रालयको ठाडो निर्देशनले गर्दा आम नागरिकले थप समस्या भोग्नपरेको भन्दै नेविसंघले असन्तुष्टिसमेत जनायो । 

पछिल्लो केही समययता विभागमा सेवाग्राहीको थेगिनसक्नु चाप देखिन्छ । काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयको गेटबाट रोडसम्मै सेवाग्राहीको लाइन हुन्छ । निद्रा छोडेर बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्नेहरुको संख्या उल्लेख्य रहेको छ । 

आम सर्वसाधारणलाई राहदानी पाउन निकै मुश्किल छ । दिनभर लाइनमा बस्दा पनि उनीहरु खाली हात फर्किन बाध्य छन् । अनलाइन सेवा प्रभावकारी नहुँदा सेवाग्राहीले पाउनसम्म सास्ती पाएका छन् । 

भीड हेरेर नेपालमा रोजगारीको अवस्था के रहेछ ? स्पष्ट हुन्छ । बिहानदेखि खाली पेट रन्थनिएर पासपोर्टको लाइनमा बसेका नेपाली नागरिकप्रति सरकारले अलिकति पनि चासो नदेखाएको नागरिक अगुवाहरुको आरोप छ । 

नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर उकालो लागिरहेको छ । मुलुकमा रोजगारीको अवस्था नहुनाले बाध्य भएर नेपालीहरु विदेशिरहेका छन् । तर,सरकारले एउटा पासपोर्टसमेत सहज माध्यमले दिन नसकेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् । 

यता, विभागको प्रवक्ता सापकोटा ‘डिमाण्ड’ धेरै भएकाले सिस्टममा समस्या आइरहने बताउँछिन् । उनकोअनुसार सिस्टमको क्षमताभन्दा धेरै डिमाण्ड भएकाले बेलाबेलामा यस्ता समस्या देखिइरहन्छन् । 

साथै, पासपोर्ट वितरणलाई सहज बनाउन थ्रुपै योजना बनाएको र त्यसलाई छिट्टै कार्यान्वयनमा लैजाने उनले जानकारी दिइन् ।

टिप्पणीहरू