बागलुङका ज्येष्ठ नागरिक र फरक क्षमताका नागरिक दंग
-राजेशचन्द्र राजभण्डारी
मालिका सेवा समाजले बागलुङ नगरपालिका ५ का ३७ जना जेष्ठ नागरिकलाई सम्मान तथा छ जना फरक क्षमताका व्यक्तिलाई सहयोग गरेको छ । समाजले उनीहरुलाई पायक पर्ने स्थान र घरमै पुगेर सम्मान तथा सहयोग गरेको हो ।
सो अवसरमा जेष्ठ नागरिक तथा पूर्व प्रधानपञ्च कृष्णराज शर्माले समाजको उक्त कार्यको सह्राना गर्दै सम्मानले ज्येष्ठ नागरिकको न्यास्रोपनमा खुशी ल्याएको धारणा राखेका थिए ।
वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद रेग्मीको उक्त कार्यबाट वास्तविक सेवा भाव झल्केको बताए । संस्थाका अध्यक्ष जीवन नाथ शर्मा रेग्मीले जेष्ठ नागरिकको इतिहास, उनीहरुले समाजमा पुर्याएको योगदानबारे प्रकाश पारेका हुन् । उनले भने, ‘अहिले अधिकांश स्थानमा जेष्ठ नागरिकको संख्या धेरै रहेको र उहाँहरुका अनुभव सुन्ने थोरै भएपनि यस्तका कार्यले त्यस्ता नागरिकको अनुहारमा खुशी ल्याउँछ ।’ यस्ता कार्यको वृद्ध उमेरका नागरिकलाई जीवन यापनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
केही ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिक कारणवशः जिल्ला बाहिर रहनुभएकाले उहाँहरुको समयमा पुनः यस्तै भेटघाट मिलाइने संस्थाका सचिव खडानन्द सापकोटाले बताए । समाजले बाग्लुङ बजारमा रहेकालाई सम्मान गर्न मिति तय गरिने जानकारी कार्यक्रम संयोजक याम बहादुर कुवरले दिएका छन् ।
सो अवसरमा वडा सदस्य बलराम सापकोटा, चक्रपाणि सापकोटा, बागलुङ नगरपालिका ६ का जनप्रतिनिधि कृष्ण सापकोटा, समाजका निवर्तमान अध्यक्ष दुर्गाबहादुर कुवर, कार्यक्रम सयोजक यामबहादुर कुवर, कोषाध्यक्ष प्रकाश केसी, टिका खड्का ,पार्वती खड्कालगायतले विभिन्न ठाउँमा आआफ्नो धारणा राखेका थिए ।
टिप्पणीहरू