अरु बालुवाटार र धुम्बाराहीमा, राजेन्द्र पाण्डे बालकोटमा

अरु बालुवाटार र धुम्बाराहीमा, राजेन्द्र पाण्डे बालकोटमा

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले हिजो मध्यान्ह बालकोट पुगेर एमाले अध्यक्षसँग कुराकानी गर्नुभएको हो ।

‘पाण्डेले हिजो दिउँसो साढे १२ बजेदेखि झण्डै साढे १ बजेसम्म अध्यक्षज्यूसँग कुरा गर्नुभयो’ बालकोट स्रोतले भन्यो । नयाँ सरकारलाई विश्वासको मतको संकट उत्पन्न हुन लागेको खबर बाहिरिँदै गर्दा भएको उहाँहरुबीचको भेटवारे एमाले र एकीकृत समाजवादीका नेताहरुले हालसम्म सार्वजनिक गरेका छैनन् ।

हिजै बिहान एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आधा घण्टा कुराकानी गर्नुभएको थियो । त्यसैगरी सोही पार्टीका विद्यार्थी नेताहरुले पनि हिजो प्रधानमन्त्रीसँग भेटवार्ता गरेर वाम एकताको प्रस्ताव अघि सारेका थिए । 

हिजो साँझ पार्टी अध्यक्ष माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न देउवा धुम्बाराहीमा बस्दै आउनुभएको भाडाको घरमा पुग्नुभएको थियो । यसअघि सचिव रामकुमारी झाँक्रीले पनि काँग्रेस सभापति देउवासँग भेट गर्नुभएको थियो ।

टिप्पणीहरू