कसको कुरा पत्याउने,काँग्रेसको कि राप्रपाको ?

कसको कुरा पत्याउने,काँग्रेसको कि राप्रपाको ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतमा फेल गराएर सत्तामा फर्किने प्रयासस्वरूप राजनीतिक भेटघाट र संवादलाई तीब्र पार्नुभएका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि भेटलाई निरन्तरता दिनुभएको छ । उहाँले बिहानै एकीकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग आधा घण्टा गोप्य छलफल गर्नुभयो । 

देउवालाई भेट्न बिहान सवा १० बजेतिर धुम्बाराहीस्थित कुलचन्द्र निवास पुग्नुभएका पाण्डे पौने ११ बजेको हाराहारीमा त्यहाँबाट निस्किएको स्रोतले बताएको छ । उहाँहरुबीच पछिल्लो राजनीतिक परिस्थिति र सम्भावित नयाँ सत्ता समीकरणबारे कुराकानी भएको जानकार स्रोतले दावी गरेको छ । स्मरणीय छ,प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने प्रष्ट निर्णय नगरेको समाजवादीका अध्यक्ष माधव नेपालले पनि हिजो दिउँसो देउवालाई भेट्नुभएको थियो । 

एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि सबै राजकीय पद गुमाएर प्रतिपक्षी भूमिकामा पुग्ने अवस्था बन्नासाथ सत्ता गठबन्धन टुटाउनु काँग्रेस र देउवाका लागि अनिवार्य बनेको छ । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका राप्रपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई नयाँ समीकरणमा ल्याउन सकिने विश्वासका साथ देउवा सक्रिय भएर लागेको बताइन्छ । कुनै पनि गठबन्धनमा नरहेको एकीकृत समाजवादीलाई समेत साथमा लिँदा बहुमत जुट्ने देउवाको हिसाब छ । 

पुस १० गते बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा सरेपछि केही दिन मौन रहनुभएका देउवा प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने निर्णय गरेकै दिनदेखि एकाएक पार्टीभित्र र बाहिरका राजनीतिक भेटघाटमा जुट्नुभएको हो । सबैभन्दा पहिले उहाँले अस्ति जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर नयाँ समीकरणको प्रस्ताव गरेको र यादवबाट 'ग्रिन सिग्नल' पाएपछि हौसिएको बताइएको छ । 

अस्तिदेखि तारन्तार भेटघाटमा जुटेका काँग्रेस र राप्रपाका नेताहरुले हिजो रातिसम्ममा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिलाउने रणनीति लगभग पक्का भएको बताएका छन् । हिजो काँग्रेस र राप्रपाका विभिन्न  तहका नेताहरुबीच कुराकानी भएको थियो । 

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले हिजो वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा आफ्नो पार्टी अध्यक्ष प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताउनुभएको थियो । काँग्रेस सभापति देउवाले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको अवस्थामा नयाँ गठन हुने सरकारको नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने उहाँको दावी छ । तामाङको भनाइ थियो, ‘देउवाले लिङ्देनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छु भन्नुभएको छ ।’

यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ समीकरणका सम्बन्धमा 'काँग्रेसले नजाने गाउँको बाटो नसोध्ने' भन्दै पन्छिनुभएको छ । हिजो सभापति देउवालाई भेटेपछि उहाँले भन्नुभएको थियो, ‘नेपाली काँग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग पनि भनिरहेको छैन । सोझो भाषामा भन्ने हो भने हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँ ।’

तर, राप्रपाका अरु नेताहरुले भने काँग्रेसले आफ्नो पार्टीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको दावी गरेका छन् । बाह्य शक्ति केन्द्रहरुको समेत यसमा प्रत्यक्ष चासो रहेको बताएका राप्रपाका एक नेताले जनआस्थालाई भने, 'दुई ठूला शक्ति मज्जाले लागेका छन्, त्यसैले नयाँ समीकरण बन्ने सम्भावना बढेर गयो ।' 

यसका बाबजुद संसद्को अंकगणित भने कांग्रेस र देउवाले चाहेजस्तो अनुकूल छैन । कांग्रेस नेताहरुको राप्रपा र जसपालाई नयाँ समीकरणमा तान्न सके जनमत, नागरिक उन्मुक्ति र प्रभु साहहरु पनि समेटिने आन्तरिक र बाह्य सबैतिरको अनुमान छ ।  ती सबै एकठाउँमा उभिँदा पनि बहुमत जुटाउन भने महाभारत पर्ने देखिन्छ । 

संसदमा काँग्रेसको ८८, राप्रपा १४, जसपा १२, जनमत ६, लोसपा र नागरिक उन्मुक्तिका ४-४ सांसद छन् । एकीकृत समाजवादीका १० सांसदले पनि साथ दिए १३८ पुग्छ । जुन सरकार गठनका लागि बहुमत त हो, तर कुनै एउटा दलले मात्रै समर्थन फिर्ता लिएको अवस्थामा पनि सरकार ढल्छ ।

टिप्पणीहरू