असई मारेर फरार माननीयलाई बिश्वासको मत दिन ल्याउने तयारी
एकै खालको प्रकरण र एकै दिनको चुनाव जितेका दुई जना सांसदमाथि संसद सचिवालय र नेपाल प्रहरीबाट भएको व्यवहार अनौठोलाग्दो छ । मनाङ्गबाट संघीय संसदमा निर्वाचित टेकबहादुर गुरुङ यतिखेर भ्रष्टाचार आरोपका कारण निलम्बित छन् । उनी नेपाली काँग्रेसका सांसद हुन् ।
तर त्योभन्दा झनै जघन्य अपराधका आरोपित सांसदले भने आजसम्म छुट पाएका छन् । महोत्तरी १ बाट विजयी एमालेका लक्ष्मी महतो कोइरी अहिले पनि खुलमखुल्ला हिँडडुलमा देखिन्छन् । उनीमाथि घाइते सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट उतारेर भाला रोपी मारेको आरोपमा उच्च अदालत,जनकपुरले समातेर जेल हाल्न आदेश दिएको छ ।
कोइरीले महोत्तरी-१ बाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए । अख्तियारको पत्रानुसार गुरुङ निलम्बित छन् भने, अदालतको आदेशका वावजुद कोइरी भने माननीयका हैसियतमा बधाइ थापेर कुदिरहेकै छन् ।
आगामी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा एक भोट पनि ‘अमूल्य’ भएकाले राजनीतिक जोडघटाउमा उनलाई खुल्ला छाडिएको सँसद सचिवालयमा चर्चा छ ।
संसदका महासचिव डा.भरतराज गौतम एमाले निकट र सांसद लक्ष्मी पनि एमालेकै हुन् । वर्तमान सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनामा रातारात गठन भएको हो ।
उनै कोइरीलाई संसदमा हुने आगामी मतदानमा सहभागी गराउने योजना बुनिएअनुरुप निलम्बन नगरिएको बताइन्छ । निलम्बनको निम्ति हालसम्म एमाले संसदीय दल र सम्बन्धित व्यक्तिलाईसमेत प्रहरी र संसदबाट पत्र गएको छैन । सोही कारण उनी फुक्काफाल सांसदको हैसियतमा हिँडिरहेका हुन् ।
"आफ्नै पद जोगाउन भ्याइनभ्याई भएको पात्रले आफै मातहतका सुरक्षाकर्मी मार्नेलाई पक्रन छाडेर ढुङ्गा,गिट्टी,बालुवाटारतिर लाग्नु स्वभाविकै हो।"
एकातर्फ यति सानो मुलुक,अर्कोतर्फ विजयी सांसदलाई नेपाल प्रहरीले पक्रन नसक्नु आफैँमा उदेकलाग्दो विषय बनेको छ । ‘कोइरी पनि किशोरी निर्मला पन्तको बलात्कारपछि ज्यान लिने अपराधीझैँ प्रहरीको आँखामा अचम्म ढंगले परेका छैनन्,’ नेपाली काँग्रेसका एक जना नेताले बताए ।
उनलाई पक्रनेतर्फ हालसम्म प्रहरीले कुनै टोली नखटाएको बताइन्छ । उता संसद सचिवालय पनि गुरुङलाई झैँ तत्काल निलम्बन गर्न तातेको पाइन्न ।
यस्तो अवस्थामा आगामी मंगलबार साँझ संसद सचिवालय र नेपाल प्रहरीको तर्फबाट सार्वजनिक हुने रेडिमेड जवाफ पनि तयार भएको स्रोतको दाबी छ । सम्भवतः उनले विश्वासको मतसम्बन्धी मतदानमा सहभागी भएपछि, ‘ए, आउनुभएछ,भोट हालेर जानुभएछ,हामीले त थाहै पाएनौँ’ भनेर लाचारी व्यक्त गरिने सम्भावना प्रवल छ ।
‘यो भनेको विधिको विडम्बना हो,’ सर्वोच्च अदालतका एक जना अवकाशप्राप्त श्रीमानले भन्नुभयो, ‘विधिको शासन गर्ने भन्दै आएका गृहमन्त्री रवि लामिछानेले अहिले यतिखेर यता हेर्ने कुरो भएन । उनी स्वयम गठबन्धन र सरकारमा छन् । अर्कोतर्फ आफैँ नागरिकता र पासपोर्टको लफडामा छन् । आफ्नै पद जोगाउन भ्याइनभ्याई भएको पात्रले आफै मातहतका सुरक्षाकर्मी मार्नेलाई पक्रन छाडेर ढुङ्गा,गिट्टी,बालुवाटारतिर लाग्नु स्वभाविकै हो। ’
हुन पनि गृहमन्त्री लामिछानेलाई नागरिकताको विवादसम्बन्धी संवैधानिक इजलासमा भएको बहसलाई लिएर सबैतिरको दैलो धाउन फुर्सद छैन । उता नेपाल प्रहरीको अवस्था गत सातादेखि गरुडको अगाडि परेको सर्पजस्तै छ । यस्तो अवस्थामा त्यस्तो संगठनले कोइरीको विषयलाई हेर्नुभन्दा पन्छाउनु निको मान्ने पक्का छ ।
त्यसैले कोइरीले मंगलबारको विश्वासको मतसम्बन्धी मतदानमा भाग लिएमा को जिम्मेवार हुने ? उनले दिएको मत नै निर्णायक बनिदिएको अवस्थामा दोष कसले व्यहोर्ने ?
टिप्पणीहरू