बामदेव,घनश्याम,भीमलाई भेट्दै युवा संघ
एमाले-माओवादी सहकार्यमा आफ्नो मातृ पार्टी छुटेपछि नेकपा एकीकृत समाजवादी निकट युवा संघका नेताहरुले विभिन्न वामपन्थी नेताहरुसँग भेटघाट बढाएका छन् । एकिकृत समाजवादी पार्टीसहितको वाम एकताका पक्षमा वातावरण बनाउन संघको केन्द्रीय नेतृत्व भेटघाटमा सकृय भएको हो ।
युवा संघका नेताहरुले आज प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र तत्कालीन नेकपा बिभाजनपछि स्वतन्त्र बसेका वामदेव गौतमलाई भेट गरे । उनीहरुले आजै एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट रहेका नेता भीम रावललाई पनि भेटेका छन् ।
ती भेटमा युवा संघका अध्यक्ष तथा कर्णाली प्रदेश सांसद नरेश शाही, समाजवादीका केन्द्रीय सदस्य हस्त शाहीलगायत संघका पदाधिकारीहरू सहभागी थिए । भेटका क्रममा समग्र कम्युनिस्ट आन्दोलन,पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको संघका महासचिव दीपक जिएमले बताए ।
विभिन्न पार्टीका नेता-कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल,नेकपा ब्युँताउन हिँडेका गौतम र एमालेमा असन्तुष्ट रावललाई आफ्नो पार्टीमा ल्याउन युवा नेताहरुले प्रयत्न गरेको उपस्थित एक नेताले खुलासा गरेका छन् ।
टिप्पणीहरू