राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टा अन्धकार, यात्रुको बिजोग

राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टा अन्धकार, यात्रुको बिजोग

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुई घण्टा विद्युत आपूर्ति बन्द भएको छ । अपरान्ह सवा ४ बजेदेखि बेलुकी झण्डै साढे ६ बजेसम्म विमानस्थलको भित्री कक्ष अन्धकार भएको हो ।

विद्युत नभएपछि भन्सारको सबै लगेज बेल्ट झण्डै एक घण्टा बन्द भएको थियो । आन्तरिक बिजुली आपूर्ति भएर साढे ५ बजेपछि ५ नम्बरको बेल्ट मात्र सञ्चालनमा ल्याइएको बताइन्छ । त्यसबाट तीन वटा उडानबाट आएका यात्रुहरूको लगेज सीमित ढंगले वितरण गरिएको भन्सार स्रोतले बताएको छ ।

विमानस्थलमा विद्युत आपूर्ति बन्द भएको समयमा जापानको नारिताबाट नेपाल वायुसेवा, दुबईबाट फ्लाई दुबई र ढाकाबाट हिमालय एयरको विमान आएका हुन् । तीन वटा उडानका पाँच सय बढी यात्रुको लगेज वितरणको क्रममा विमानस्थलको अवस्था बिजोग देखिएको थियो । विद्युत आपूर्तिको क्रममा देखिएको समस्या समाधान भएपछि सबै लगेज बेल्ट,स्काई ल्याडर र लिफ्टहरु सुचारु भएको छ ।

टिप्पणीहरू