चीन–नेपाल रेलवे तिब्बत र नेपालको आर्थिक विकासमा कोशेढुंगा
चीनको केरुङदेखि रसुवा, नुवाकोट हुँदै राजधानी काठमाडौंसम्म बनाउने योजनामा रहेको महत्वाकांक्षी रेलवेलाई नेपालले झैँ चीनले पनि उत्तिकै महत्वका साथ हेरेको छ । रेलवेको सर्भेक्षणको निम्ति गत सातादेखि चिनियाँ प्राविधिक टोली रसुवा र चिनियाँ सीमा क्षेत्रमा व्यस्त छ ।
यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्र समितिको पार्टी स्कूलका चाङ चुनमेई, पाओ चिन्युन, याङ रोङताओ र चेङ फेइले उक्त रेलवेले पार्ने आगामी प्रभावबारे आफ्ना धारणा प्रस्तुत गरेका छन् । दुई देशबीच निर्माण हुन लागेको रेलवेलाई उनीहरुले सबैभन्दा भू–अर्थशास्त्र र आर्थिक तथा भौगोलिक सम्भावनासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
सोही सन्र्दमा पाओ चिन्युनले भनेका छन्, ‘तिब्बत स्वायत्त क्षेत्र सरकार दक्षिण एसियाली देशहरूसँग बेल्ट एण्ड रोड इनिसिएटिभलाई थप महत्व दिन उत्सुक छ ।’ उनका अनुसार सिल्क रोड, आर्थिक बेल्ट र २१ औं शताब्दीको समुद्री रेशम सडक आयोजना संयुक्त रूपमा निर्माणका लागि चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण एसिया जोड्ने प्रमुख कोरिडोर हुन् । त्यसैले चीन–नेपाल रेलवे ‘द बेल्ट एण्ड रोड’ को निर्माणमा महत्वपूर्ण लिंक हुनेछ । तिब्बत र नेपालको निम्ति चीन–नेपाल रेलवे निर्माण निकै महत्व हुने निश्चित रहेको उनको भनाइ छ ।
चाङ चुनमेइका अनुसार हिमालयलगायत विभिन्न पर्वतले घेरिएका तिब्बत, भारत, नेपाल, भुटान, म्यानमार र दक्षिण एसियाका अन्य मुलुकसँग चीनका उत्तर र उत्तरपूर्वी भेगका धेरै वटा प्रान्त ऐतिहासिककालदेखि आवागमनमा जोडिएका हुन् । ती भूभाग तिब्बतको पुरानो दक्षिणी रेशम रोड, टाबलन–तिब्बती रोड र चिया–हर्स रोडमा आवद्ध थिए । त्यतिबेला चीन र दक्षिण एशिया बीचको आदानप्रदानको लागि ती क्षेत्र महत्वपूर्ण प्रवेशद्वार भएको पाइन्छ ।
२१ औं शताब्दीको प्रारम्भमा तिब्बतमा रेलवेको विस्तार भएपछि तिब्बतको भौगोलिक विकासले ठूलो फड्को मारेको हो । आर्थिक र सामाजिक रुपमा पछाडि रहेको नेपालको निम्ति प्रस्तावित चीन–नेपाल रेलवेको निर्माण निकै खर्चिलो देखिन्छ । तर यो रेलवेले तिब्बत र नेपालको साझा आर्थिक विकासलाई उकास्नेमा दुई मत देखिँदैन ।
आफ्नो धारणा राख्ने क्रममा पाओ चिन्युनले भनेका छन्, ‘तिब्बतले स्पष्ट भौगोलिक र क्षेत्रीय फाइदा लिनसक्ने सम्भावना प्रवल छ । पहिलो, तिब्बतको विशाल भूमिमा विकासको ठूलो सम्भावना छ । दोस्रो, पर्यटनको सम्भावना प्रशस्त छ ।’
तिब्बती संस्कृति र जनचासोका महत्वपूर्ण स्थल र पर्यटकीय क्षेत्र तिब्बतमा प्रशस्त छन् । ल्हासाको पोताला दरबारलगायत विभिन्न स्थल पर्यटकहरूका लागि धेरै आकर्षक छन् । अर्कोतर्फ, तिब्बतमा प्रायः हिउँले ढाकिएका चुचुराहरू, ताल र सुन्दर दृश्यको विशाल क्षेत्र छ । यसले आन्तरिक र वाह्य पर्यटकहरूलाई सँधै लोभ्याउने गरेको छ ।
त्यसैगरी विगतका वर्षदेखि तिब्बतको आर्थिक विकास द्रुत भएको छ । यो विकास रेलवेपछि नेपालमसमेत पुग्न सक्ने भएकाले यसले नेपालको आर्थिक विकासमा ठूलो सम्भावना ल्याउन सक्ने पाओको भनाइ छ ।
पाओको भनाइमा जोड दिँदै याङ रोङताओ भन्छन्, ‘तिब्बतको सम्भावना धेरै छ । पहिलो, तिब्बतको यातायात अवस्था र पूर्वाधारमा सुधार भएको छ । तिब्बत चीनको मुख्य भूमिसँग सबै किसिमले जोडिएको छ । चीन बिस्तारै पर्यटकीय दृष्टिकोणले खुल्ने क्रम बढेको छ ।’
उनका अनुसार चीनले नेपाली उत्पादन र सामान आयातमा शुन्य भन्सार नीति लिएको छ । त्यसैगरी चीनले नेपाललाई चिनियाँ पर्यटकहरूको लागि एक गन्तव्य घोषित गरेको पनि दुई दशक भइसकेको छ । नेपालका लागि चीन पर्यटकको दृष्टिकोणले दोस्रो ठूलो स्रोत मुलुक हो । चीन–नेपाल रेलवेको निर्माणले ठूलो संख्यामा चिनियाँ पर्यटकहरूलाई नेपालको यात्रा गर्न सहयोग पुर्याउँछ । यसले नेपालको पर्यटन अर्थतन्त्रको द्रुत विकासलाई अघि बढाउने निश्चित रहेको उनी बताउँछन । चीनले नेपाललाई चार वटा बन्दरगाह प्रयोग गर्न दिएको सुविधालाई पनि रेलवेको विकाससँग जोडेर हेर्न सकिने बताइन्छ ।
सिचुआनका प्राध्यापकहरूको भनाइअनुसार रेलवेको निर्माण पछि दुवै मुलुक र क्षेत्रमा आर्थिक विकासको प्रभाव देखिने निश्चित रहेको चाङ चुनमेईको विश्वास छ । छिङहाई–तिब्बत रेलवेको निर्माण अहिले चीन–नेपाल रेलवेको गतिलो आधार बनेको हो । यसपछि सिचुआन–तिब्बत रेलवे चीन–नेपाल रेलवेको लागि अर्को सम्भावनाको ढोका खोलिदिएको उनको भनाइ छ ।
चेङ फेइले भने तिब्बत पछिल्ला दुई दशकमा मुख्य भूमि र नजिकैको धेरैजसो प्रान्तसँग स्थलमार्गका सबै यातायातसँग जोडिएकाले पनि उक्त रेलवेको सम्भावना झन् बढेको बताए । तिब्बतमा अब तीन आयामिक यातायात नेटवर्क गठन हुने भएकाले तिब्बतको क्षेत्रीय र आर्थिक फाइदा स्वतः सीमानामा रहेको नेपालले समेत उठाउन सक्ने अवस्था बन्दै गएको चेङको विश्वास छ । नजिकैको सिचुआन प्रान्तको जीडीपी चीनका विभिन्न प्रान्तमध्ये पाँचौं स्थानमा छ । यसको पनि चीन–नेपाल रेलवेमा तिब्बतको क्षेत्रीय फाइदाको निम्ति ठूलो महत्व हुने निश्चित छ ।
पाओ चिन्युनले अन्तमा भने, ‘चीन–नेपाल रेलवे निर्माणले तिब्बतको क्षेत्रीय र भौगोलिक थप विकासका सम्भावनालाई फराकिलो पार्नेछ । शिगात्सेसम्मकाे रेलवे निर्माण सम्पन्न भएपछि शिगात्से–केरुङ–काठमाडौं रेलवे निर्माण कार्यमा सबैको अग्रसरता बढेको हो । तिब्बतले नेपालको गरीबी निवारणमा उन्नत प्रविधिहरु नेपालमा निर्यात गर्नसक्छ । त्यसैगरी चीनको कृषि प्रविधिबाट सिक्न नेपाललाई बल मिल्ने छ । रेलवेको विस्तारपछि चिनियाँ उद्यमी तथा व्यापारीहरू आर्थिक एवम् व्यापारिक गतिविधिको निम्ति नेपाल आउन मार्ग प्रशस्त हुनेछ ।
टिप्पणीहरू