केपी ओलीको गोजीमा मन्त्रीको नाम,कृष्णगोपाल नदोहोरिने

केपी ओलीको गोजीमा मन्त्रीको नाम,कृष्णगोपाल नदोहोरिने

पर्सि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार हुने भएकाले एमालेले सम्भावित सूचीलाई अन्तिम रुप दिन थालेको छ । यसअघि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्री बनिसकेका छन् । तर मन्त्रालयको भागबण्डा नभएकाले दुई सातादेखि अर्थमन्त्रीबाहेक अरु बिनाविभागीय मन्त्रीको हैसियतमा क्वार्टरमा बस्न बाध्य छन् ।

सम्भवतः पर्सि साँझ बिस्तार हुने मन्त्रिमण्डलमा एमालेले ललितपुर २ का सांसद प्रेम महर्जनलाई पठाउने भएको छ । महर्जन मन्त्री बन्ने भएपछि काठमाडौं ९ बाट विजयी कृष्णगोपाल श्रेष्ठलाई यस पटक मन्त्रिमण्डलमा नपठाउने र महर्जनले नै उपत्यकाबाट नेवार समुदायको प्रतिनिधित्व गर्ने भनिएको छ । अध्यक्षको भनाइ उध्दृत गर्दै स्रोतले भनेको छ, ‘प्रेमलालले नै अब मन्त्रिमण्डलमा भ्याली र नेवार समुदायको प्रतिनिधित्व गर्छन् ।’ 

त्यसैगरी मकवानपुर २ का महेश बर्तौलालाई पनि एमाले अध्यक्ष ओलीले कुनै हालतमा मन्त्री बनाउनुपर्छ भन्दै सूचीमा रेजा लगाउनुभएको स्रोतको दाबी छ । बर्तौलाले गत आमनिर्वाचनमा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गरेका थिए ।

यसअघि पुस ११ गते नै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह,राजेन्द्र राईले शपथ लिइसकेका छन् । विगतमा सञ्चारमन्त्री हुँदा विवादास्पद छवि बनाएका गोकुल बाँस्कोटा मन्त्री हुने सम्भावना कम रहेको बालकोट निकटस्थ कमरेडहरुको भनाइ छ ।
त्यसैगरी सभामुखमा छविलाल विश्वकर्मालाई रोज्ने सम्भावना  देखिएको छ । विश्वकर्मालाई उक्त पदमा चयन गर्दा दलितको प्रतिनिधित्व हुने ठहरका साथ लुम्बिनी र रुपन्देहीको एमाले राजनीतिमा बल मिल्ने अध्यक्ष निकटस्थहरुको बुझाइ छ ।

एमाले नेतृत्वले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई २ पटक माननीय बनाउनु पछाडिको कारण पनि पार्टीभित्र खुल्दै गएको छ । ढकालका कारण पार्टीको खर्च चलाउन व्यापारीहरुसँग हात फैलाइरहन नपर्ने एउटा सजिलो उपाय हो धने क्रिश्चियन मतदातालाई पनि रिझाउन सकिने भएकाले आगामी चुनावसम्म सकारात्मक प्रभाव पर्ने अध्यक्ष ओलीको विश्लेषण रहेको बताइन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिँदाको फाइदाबारे पनि बालकोटमा राम्रैसँग छलफल हुने गरेको छ । नेपालमा रहेका र आउने तिब्बती शरणार्थीलाई परिचयपत्र दिएर अमेरिकाको चासोलाई सम्बोधन गर्न सकिने,अन्तर्राष्ट्रिय शक्ति केन्द्रको दबाबलाई ‘ब्यालेन्स’ गर्न सकिने उनीहरुको बुझाइ रहेको छ ।

टिप्पणीहरू