एमालेको पुरानो केन्द्रीय कार्यालय भत्काउन लागियो
बल्खू किनारका सँरचना भत्काउने तयारी अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बल्खु खोला किनारमा रहेका भौतिक संरचना हटाउने भएको छ । वडा कार्यालयले सूचना जारी गर्दै काठमाडौँ महानगर-१४ स्थित खसी बजारदेखि खड्का गाउँसम्मको बल्खू खोला किनारका संरचना हटाउन भनेको हो ।
सो ठाउँमा बागमती सभ्यता एकीकृत विकास समितिले सडक ढल तथा तटबन्ध निर्माण गर्न लागेकाले संरचना हटाउन लागिएको वडा कार्यालयले जनाएको छ । सूचनामा यथाशीघ्र खोला किनारदेखि १० मीटरसम्मको क्षेत्रभित्रका संरचना हटाई सहयोग गरिदिन आग्रह गरिएको छ ।
बल्खू खोला किनारका दाँयाबाँया १० मीटर क्षेत्रसम्म संरचना हटाइने भएसँगै नेकपा एमालेको पुरानो पार्टी कार्यालय रहेको एउटा भवन पनि भत्किने भएको छ । तोकिएको मापदण्डअनुसार संरचना हटाइए एमालेको आफ्नै स्वामित्वमा रहेको बल्खू, मदननगरस्थित पार्टी कार्यालयको ०७२ सालको भूकम्पले भत्काउन बाँकी रहेको एउटा जीर्ण भवन भत्कने छ ।
एमालेले खोला मिचेर बनाएको अर्को एकतले भवन पनि भत्काउन यतिबेलै दबाब बढेको छ । बल्खू खोलैबाट उठाएर बनाएको सो भवन भत्किनासाथ बाटो खुल्ने भएकाले भत्काउन पर्ने स्थानीय जानकारहरु बताउँछन् । उक्त भवन धेरै पहिले भत्काउने प्रयास भए पनि राजनीतिक प्रभाव र पहुँचका कारण सम्भव हुन् नसकेको स्थानीयको भनाई छ ।
यसअघि एमालेका वडाअध्यक्ष शोभा सापकोटाका कारण रोकिएको भवन भत्काउने अभियान नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुमन श्रेष्ठको पहलमा अघि बढेको बताइएको छ । सापकोटालाई १० भाइ समूहमा लागेको भनेर टिकट नदिई एमाले नेता कृष्णगोपालले भाइटीका लाइदिने रश्मी खड्कालाई टिकट दिइएको थियो ।
टिप्पणीहरू