घण्टीका माननीयहरु सिंहदरबारमा सर्लक्कै
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक राखेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक जारी छ । उपप्रधान तथा गृहमन्त्री एवं संसदीय दलका नेता रवि लामिछानेकाे अध्यक्षतामा बसिरहेको बैठकमा सांसदहरु सोविता गाैतम,निशा डाँगी,गणेश पराजुली, शिशिर खनाल,ताेशिमा कार्की,बिश्वभक्त श्रेष्ठ, हरि ढकाललगायतको उपस्थिति रहेको सो पार्टीले जनाएको छ ।
रास्वपा प्रचण्ड नेतृत्वको वर्तमान सरकारको महत्वपूर्ण हिस्सेदार हो । प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिन लागेकाले आजको बैठकले सो सम्बन्धमा औपचारिक निर्णय गर्ने बताइएको छ । त्यस्तै, सरकारमा पार्टीको भूमिका र मन्त्री चयनका विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।
पार्टी गठनको छोटो समयमै निर्वाचनबाट अप्रत्यासित सफलता पाएको रास्वपामा मन्त्रीका लागि दर्जन बढी आकांक्षी छन् । उपप्रधानसहित ३ मन्त्री मात्रै पाउने भएकाले अब बाँकी २ जना छान्न त्यहाँ महाभारत पर्ने देखिएको छ । तर,मन्त्री छान्ने सम्पूर्ण जिम्मा सभापति लामिछानेले पाएकाले उनैले निर्णय गर्ने छन् ।
टिप्पणीहरू