पूर्वमा एमालेका हिक्मत अघि सरे, माओवादीले हुन्छ भन्यो
नेकपा एमालेका प्रदेश सांसद हिक्मत कार्की सत्ता गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीमा साझा उम्मेदवार हुने भएका छन् ।
एमाले संसदीय दलको नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा अहिले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नै लागेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । उक्त समयभित्र प्रदेश प्रमुखसमक्ष कार्कीको नाम अघि सार्न गठबन्धनका दलहरु सहमत भैसकेका छन् । एमालेले औपचारिकरुपमा कार्कीलाई अघि सार्ने निर्णय गरेपछि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले उनलाई समर्थन दिने निर्णय गरेको छ ।
दुई दलबीच मुख्यमन्त्री र सभामुख बाँडेर लिने सहमतिसमेत भैसकेको बुझिएको छ । जसअनुसार सभामुख माओवादीको भागमा परेको छ ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ ।
प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसद छन् ।
टिप्पणीहरू