बिध्युत प्रशारण लाइन रोक्न माग गर्दै प्रदर्शन गर्नेमाथि पेस्तोल ताक्ने इन्स्पेक्टर जिल्ला तानिए
काठमाडौंको शंखरापुरमा आन्दोलनमा उत्रिएका स्थानीयलाई पेस्तोल ताक्ने एक प्रहरी इन्स्पेक्टरमाथि छानविन हुने भएको छ । शंखरापुरको बोझेनीमा निर्माण हुन लागेको विध्युत प्रशारण लाइन (सबस्टेशन) स्थानान्तरणको माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारीलाई पेस्तोल ताकेका इन्स्पेक्टर विशाल बहादुर बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले छानविन गर्न लागेको हो ।
जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले बुढाथोकीले गैरव्यावसायिक काम गरेकाले छानविनका लागि झिकाउने निर्णय भएको बताए । उनले छानविन शुरु भैसकेको पनि जानकारी दिए ।
एडिबीको लगानीमा निर्माण हुन लागेको विद्युत सबस्टेशन अन्यत्र सार्न माग गर्दै स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयाेजक रन्जित तामाङको नेतृत्वमा आज आठौँ दिन पनि विरोध प्रदर्शन भएको थियो । यसअघि सोही ठाउँमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।
१९२ रोपनी क्षेत्रफलमा निर्माणाधीन अपर तामाकोशी बिद्युत प्रसारण लाइन निर्माणका लागि अहिले सर्वे भैरहेको छ । स्थानीयको आन्दोलनपछि प्रहरी खटाएर सर्वे गराइएको हो । सोहीक्रममा प्रहरी वृत्त बौध्दबाट थप मध्दतका लागि खटिएका इन्स्पेक्टर बुढाथोकीले पेस्तोल ताकेका थिए ।
टिप्पणीहरू