तारुकामा यस वर्ष दुई दिन गोरु जुधाई,'वान भर्सेज वान' प्रतिष्पर्धा हुने

तारुकामा यस वर्ष दुई दिन गोरु जुधाई,'वान भर्सेज वान' प्रतिष्पर्धा हुने

मकर सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारुकामा यसवर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुकास्थित कटहरबोट पाटोमा हरेक वर्षझैँ यस वर्ष पनि गोरु जुधाउन लागिएको हो । 

‘माघे संक्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिले गोरु जुधाउन इच्छुक किसानलाई पुस २३ गतेभित्र दर्ता गराउन सूचना गरेकोमा हिजोसम्म २८ हल गोरु दर्ता भएको गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए । अघिल्ला वर्षजस्तै माघ १ र २ गते माघे सङ्क्रान्ति मेलाको अवसरमा गोरु जुधाइने उनले बताए । 

अघिल्ला वर्ष मेलाका रुपमा मनाइँदै आएको तर यस वर्ष ‘महोत्सव’ का रुपमा सञ्चालन गर्न लागिएको उपाध्यक्ष रिमालको भनाइ छ । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक,रोचक र थप मनोरञ्जनात्मक बनाउन यस वर्ष दुई दिन जुधाउन लागिएको हो  ।

राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत महोत्सवमा समावेश गरिने छ । माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । 

साथै,प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु,उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।
 

टिप्पणीहरू