धमाधम बन्द गरिँदै अवैध क्रसर उद्योग

धमाधम बन्द गरिँदै अवैध क्रसर उद्योग

मापदण्डविपरीत सञ्चालित कपिलवस्तुका क्रसर उद्योगहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय,कपिलवस्तुले मापदण्डविपरीतका ती उद्योगहरु बन्द गरेको हो । 

जिल्लाका ३४ मध्ये १५ वटा क्रसर उद्योगमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । बाँकी १९ वटा पहिल्यैदेखि बन्द अवस्थामा रहेको उनको भनाइ छ । 

प्रहरीले स्थलगत अनुगमन र निरीक्षण गरेपछि मापदण्डविपरीतका उद्योग बन्द गरिएको उनले जानकारी दिए । 

‘जिल्लामा दर्ता भएका ३४ मध्ये १५ वटा बन्द गरिएको छ । ती उद्योग ढुङ्गा,गिट्टी,बालुवा उत्खनन तथा व्यवस्थापन मापदण्डविपरीत सञ्चालन भएको पाइयो’, उनले भने,‘बाँकी भएका क्रसर उद्योग पहिलै बन्द भइसकेका छन् । हामीले यो विवरण गृह मन्त्रालय पठाइसक्यौं ।’

गत पुस २० गते गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सबै प्रशासनलाई परिपत्र गर्दै गृहले प्रचलित कानुनविपरीत सञ्चालनमा रहेका उद्योग बन्द गर्न भनेको थियो ।

टिप्पणीहरू