युवराज खतिवडामाथि राष्ट्र बैंकका कर्मचारी आक्रोशित,भन्छन्- ‘नालायक’

युवराज खतिवडामाथि राष्ट्र बैंकका कर्मचारी आक्रोशित,भन्छन्- ‘नालायक’

भूतपूर्व अर्थमन्त्री,अमेरिकाका लागि पूर्वराजदूत,नेपाल राष्ट्र बैंकका भूतपूर्व गभर्नर र योजना आयोगका भूतपूर्व उपाध्यक्ष डा. युवराज खतिवडामाथि नेपाल राष्ट्र बैंकका भूतपूर्व कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनले आज बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारण सभामा व्यक्त गरेका धारणामाथि आक्रोश पोखिएको हो ।

सबैजसो सकारात्मक कार्य आफू अर्थमन्त्री र गभर्नर हुँदा भएको उनको दाबी छ । उनले आफ्नो  लगानी रहेको जनता बैंकलाई लाइसेन्स दिएको,ग्राण्ड बैंकलाई मर्ज गराउने क्रममा शेयरको भाउ तोकिँदा अस्वाभाविक न्यूनतम मूल्य राखेर करोडौं रुपैयाँ असुलेको र बैंकको पूँजीबृध्दि गराउन हात कमाए पनि ती सबै काम आफूले गरेको भनेपछि कर्मचारी खनिएका हुन् । 

खतिवडाको भनाइको सांकेतिक विरोध गर्दै तत्कालीन उपनिर्देशक भुवन बस्नेतले लेखेका छन्, ‘आफूलाई रिस उठेको बैंक र कर्मचारीलाई पनि सिध्याएँ भन्न छुटेछ !’ त्यसैगरी श्रीराम न्यौपानेले उनले गरेका बदमासीबारे सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘मन परेको र आफन्तलाई माथिल्लो पदमा लैजान यिनले के के गरे भन्ने कुराचाहिँ  छुट्यो कि !’

न्यौपानेको भनाइलाई बैंकका तत्कालीन कर्मचारी राजेशकुमार सुवेदीले समर्थन गरेका छन् । शम्भु सापकोटाले त्यसैमा उनीविरुध्द तीतो पोखेका छन् । सापकोटा सामाजिक सञ्जालमा लेख्छन्, ‘सरासर झूठ कुरा । यिनको पालामा चकलेटमा भन्सार घटाउने र विद्युतीय गाडीमा भन्सार बढाउनेबाहेक कुनै काम भएको छैन । यिनको पीएचडीले नेपालको आर्थिक उन्नति गर्ने नयाँ नीति कुनै पनि देखिएजस्तो लागेन,’।

नरेश मानन्धरले त यिनलाई हदैसम्मको विशेषण भिराइदिएका छन् ‘नालायक....।’

टिप्पणीहरू