बागलुङमा बालमैत्री स्थानीय शासनको तयारी
बागलुङ नगरभित्र बालमैत्री स्थानीय शासन लागू गर्न बागलुङ नगरपालिका कार्यालय कम्मर कसेर लागेको छ । बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा गर्न आवश्यक मापदण्ड पूरा गर्न अपनाउनु पर्ने विषयमा सरोकारवालाबीच नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
बालमैत्री नगरका लागि आवश्यक सूचकहरु पूरा गर्न नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा कुनै कसर बाँकी नराख्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । शिक्षा, स्वास्थ्य र सामाजिक विकास क्षेत्रका सूचकहरु पूरा गर्न आवश्यक सहकार्य गरिने उल्लेख गर्दै श्रेष्ठले बालमैत्री नगर तयार हुँदा समाज रुपान्तरणको महत्वपूर्ण क्षणमा नगरपालिका प्रवेश गर्ने उल्लेख गरेका छन् ।
बागलुङ नगर कार्यपालिकाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासनको निम्ति ५१ वटा सूचक पार गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा हालसम्म नगरपालिकाले लगभग ३७ वटा सूचक पारित गरिसकेको अवस्था रहेको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
नेपालको संविधानले २० वर्ष मुनिका बालबालिकाको विवाह गर्न नपाउने नीति बनाएको हुँदा बागलुङ नगरपालिकाभित्र त्यसलाई निषेध गरेर जाने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बालमैत्री नगर घोषणाका लागि पूरा गर्नुपर्ने ५१ सूचकहरुमध्ये १२ सूचक विद्यालयले सम्पन्न गर्नुपर्ने भएकाले सोही अनुसारको काम गर्न विद्यालयहरुलाई निर्देशनसमेत दिइसकेको छ ।
हरेक विद्यालयमा बाल क्लब गठन गरेर बलमैत्री नगरका सूचक पूरा गर्न आवश्यक पर्ने योजनाहरुको तर्जुमा गरेर पठाउन नगरपालिकाले निर्देशन दिएको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रा पूर्ण बनाउन बागलुङले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्दै गण्डकी प्रदेशको बालमैत्री नगर घोषणा गर्नका लागि तयारी थालिएको छ ।
बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा नगरपालिका अनवरतरुपमा लाग्दै बालमैत्री संस्कार प्रदान गरी बालमैत्री नगरको औचित्यता र दीगोपनामा अमूल्य योगदान पुर्याउने आशा राखेको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटा, विष्णुप्रसाद चतुरर्वेदी, नगर कार्यपालिका सदस्य धनमाया शर्मा, मुक्तिराम सापकोटा, वडा नम्बर ६ का वडाध्यक्ष रूद्रबहादुर केसीलगायत वक्ताहरूले धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले कार्यक्रम सञ्चालन सामाजिक विकास शाखाका सरस्वती रेग्मीले गरेका थिए । बागलुङ नगरपालिकाले २०८१ पुस मसान्तसम्म सबै मापदण्ड पूरा गरेर बालमैत्री नगर घोषणा गर्ने योजना बनाएको छ ।
-राजेशचन्द्र राजभण्डारी
टिप्पणीहरू