केबलकारको फलामे लठ्ठामा सशस्त्र टोली झुण्डियो
मनकामना केबलकारको यात्रु बस्ने डब्बा बाहिर उक्त डब्बा ओहोरदोहोर गर्ने लठ्ठामा सशस्त्र प्रहरीको टोली झुण्डिएको छ । चितवनको कुरिनटारस्थित मनकामना केबलकारमा गरिएको रोप रेस्क्यु सम्बन्धी अभ्यासको क्रममा सशस्त्र प्रहरीहरु झुण्डिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केबलकारको सहकार्यमा उक्त अभ्यास गरिएको बताइएको छ । मनकामना केबलकारमा दर्शनार्थी चढेको समयमा कारणवशः केबलकार रोकिएमा छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्धार गर्ने उद्देश्यले सो अभ्यास गरिएको हो ।
घिर्नीको सहयोगमा डोरीको माध्यमबाट केबलकारमा अड्किएकाहरुलाई सोे विधि अपनाई सजिलैसँग उद्वार गर्न सकिने तरिका देखाइएको थियो ।
भविष्यमा आइपर्न सक्ने समस्यालाई सजिलैसँग समाधान गर्ने उद्देश्यले भएको रोप रेस्क्यु अभ्यासमा सो शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धी दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको जानकारी दिइएको छ ।
यसअघि शिक्षालयले आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिइने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरेर यस्तै अभ्यास गरेको थियो ।
टिप्पणीहरू