विदेशबाट नेताहरु एकैदिन हुरुरु फिर्ता
छिमेकी मुलुक पुगेका नेताहरु एकै पटक हुरुरु फर्केका छन् । भारतको राजधानी नयाँ दिल्ली गएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विमलेन्द्र निधि हिजो काठमाडौं फर्किए । उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ बाट साँझ साढे ६ बजे काठमाडौं विमानस्थलमा उत्रेका हुन् ।
निधि गत मंसिरमा भएको आमनिर्वाचनको परिणामलगत्तै नेपाली काँग्रेसको नेतृत्वमा मधेशवादी दललाईसमेत संलग्न गराएर नयाँ सरकार बनाउने कसरतमा जुटेका थिए । एक दिन जनमत पार्टीका अध्यक्ष सीके राउत र भारतीय राजदूत नवीन श्रीवास्तवलाई आफ्नै निवासमा स्वागत गरेर राउतलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गराउन बालुवाटर पनि लिएर गए ।
उनी पटक पटक बालकोट र खुमलटार पुगेर वारि र पारिको सन्देश प्रवाहमा समेत निकै सक्रिय देखिए । तर पुस १० गते माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि उनी लगत्तै नयाँ दिल्ली उडेका हुन् । हिजै नयाँ दिल्लीबाट नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव पनि स्वदेश फर्केका छन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०६ बाट दिउँसो साढे ३ बजे फर्केको बताइएको छ ।
उता बंगलादेशको राजधानी ढाका गएका एमाले उपाध्यक्ष ईश्वर पोखरेल पनि फर्केका छन् । उनी विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा ढाकाबाट मध्यान्ह १२ बजे काठमाडौं आइपुगेको एमाले स्रोतले बताएको छ । पोखरेल ढाकामा आयोजित बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा एमालेका तर्फबाट अतिथिका रुपमा सहभागी हुन गएका थिए ।
टिप्पणीहरू