यो वर्ष पनि बागलुङमा चैते दशैं मेला लाग्ने

यो वर्ष पनि बागलुङमा चैते दशैं मेला लाग्ने File Photo

-राजेशचन्द्र राजभण्डारी

विगतमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंका दिन मेला आयोजना हुने भएको छ । कालीका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको मेला आयोजना गर्ने जानकारी दिएको छ ।

हजारौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको समिति अध्यक्ष कुमार खड्काले बताए ।

बागलुङ सदरमुकाममा सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो । कालीका भगवती गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीका अनुसार मुलुककै प्रसिद्ध शक्तिपीठ बागलुङको कालीका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।

उनीहरुले आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

टिप्पणीहरू