ओली बोल्दा प्रचण्ड अल्मलिएकाले गठबन्धन टुट्ने दाबी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखिएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा त्यसको संकेत देखिएको उनले दाबी गरेका हुन् ।  

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रयास ठीक थियो भनेर दाबी गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएको भन्दै थापाले त्यसलाई दुई नेताबीच विग्रहको बिजारोपणका रुपमा अर्थ लगाएका हुन् । उनले सत्ता गठबन्धनको निरन्तरतामाथि आशंकासमेत गरेका छन् । 

बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको बचाउ गर्दै जनतामा जाने निर्णय प्रतिगमन नहुने दाबी गरेका थिए । बरु, संसद बाहिरबाट सरकार बनाउने कुरा प्रतिगामी हुने ओलीको जिकिर थियो । 

ओलीले त्यसो भनिरहँदा त्यतिबेला शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेका प्रचण्डको हाउभाउले विग्रहको संकेत देखेको थापाले सुनाए । ‘ओलीले  प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देख्दा चाहिँ सहानुभूति लाग्यो’, उनले भने । 

यो विषयलाई आफूले सामान्य रुपमा नलिएको महामन्त्री थापाको भनाइ छ ।

टिप्पणीहरू