एकीकृत समाजवादी केन्द्रमा अलमल, प्रदेशमा कित्ताकाट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे प्रष्ट धारणा बनाउन नसकिरहेको नेकपा एकीकृत समाजवादी दुई वटा प्रदेशमा भने सत्तापक्षमा उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा समाजवादीका संघीय सांसदहरु प्रतिपक्षी बेञ्चमा बसिरहेको समयमा बाग्मती र गण्डकी प्रदेशका माननीयहरुले सरकारलाई समर्थन जनाएका हुन् ।
बागमती प्रदेशका एकीकृत समाजवादीका सांसदहरुले आज दिउँसो सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त शालिकराम जम्मकट्टेललाई समर्थन गरेका छन् । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष पेश भएको दाबी पत्रमा समाजवादीका सात सांसदको हस्ताक्षर छ ।
यता, स्वतन्त्र सांसदलाई प्रवेश गराएर पार्टीको शुन्य प्रतिनिधित्व हुनबाट जोगिएको गण्डकीमा पनि केन्द्रीय नीतिविपरित समाजवादीका सांसद सरकारको समर्थनमा उभिएका छन् । स्वतन्त्र हैसियतमा चुनाव जितेर पछि समाजवादीमा पुगेका सांसद दिपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई समर्थन गरेका हुन् ।
समाजवादीले अहिलेसम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्न सकेको छैन । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष माधवकुमार नेपालले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेको भन्दै विश्वासको मत दिने संकेत दिनुभएको छ ।
यसबारे भोलि बिहान बैठक बसेर निर्णय गर्ने समाजवादीको तयारी छ । भोलि दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची छ ।
टिप्पणीहरू