माधव नेपालको ग्रिन सिग्नलपछि बागमती सरकारलाई एसको समर्थन

माधव नेपालको ग्रिन सिग्नलपछि बागमती सरकारलाई एसको समर्थन

बागमती प्रदेशमा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री हुँदा एकाएक नेकपा एकीकृत समाजवादीको समर्थन थपिएर समर्थन गर्ने सांसदको कूल संख्या ७० पुग्यो । एमाले २७, माओवादी २१, राप्रपा १३ मात्रै गन्ती गर्दा कूल ६१ सांसद पुग्थ्यो । सरकार बनाउन ५६ जना सांसद भएमात्रै पनि पुग्ने भनिए पनि जमकट्टेललाई तीन ठूला दलकै ६१ मत थियो । तर, एकाएक प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको दाबी गर्न जाने क्रममा जमकट्टेलका पक्षमा ७० सांसदको हस्ताक्षर रह्यो ।

माओवादी, एमाले र राप्रपासँगै नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले जमकट्टेललाई समर्थन गरे । पछि थपिएका २ वटा पार्टीमध्ये जमकट्टेलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीको निर्णयबारे अहिले बागमती प्रदेशमा अनेकन टिप्पणी भइरहेका छन् । जस्तो कि, केन्द्रमा समाजवादीलाई वास्तै नगरी छापामार शैलीमा एकाएक एमाले अध्यक्ष ओलीको बार्दलीमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए । त्यो कुरामा सल्लाह नहुँदा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चित्त फाटेको थियो ।

बाम एकताको रटान रटाइरहँदा ओलीको २०७७ पुस ५ गतेको संसद विघटनको अबैधानिक कदमबारे कुनै समिक्षा र शंश्लेषण नभईकन प्रधानमन्त्रीका लागि प्रचण्ड किन बार्दलीमा पुगे होलान् भनेर प्रश्न उठिरहँदा बागमती सरकारमा माओवादी नेतृत्वको सरकारलाई नै समर्थन गर्ने समाजवादीको यो निर्णयले बाम एकताको ढोका खोलेको कतिपयको बुझाई छ । यद्यपि भोलि हुने संघीय संसदमा प्रचण्डले समाजवादीका १० भाई सांसदको मत पाउलान् वा नपाउलान् अझसम्म अनिर्णित छ । 

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश इन्चार्ज एबम् केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले बागमती प्रदेशमा सरकारलाई समर्थन गर्ने बिषय अप्रत्यासित नरहेको जनआस्थालाई बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी तीन दिनदेखि होमवर्क गरिरहेका थियौँ, कुनै न कुनै बिन्दुबाट यो उद्घाटित हुनैपथ्र्याे’, उहाँले भन्नुभयो–‘बाम एकताको ढोका खोल्नका लागि भए पनि बागमतीमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेका हौँ ।’ उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि नै पार्टीले यस्तो कदम चालेको बताउनुभयो ।

प्रदेश सरकारमा समाजवादीले सहभागिता जनाउने वा नजनाउने भन्ने बिषय छलफलकै क्रममा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘भर्खर ढोका खोलेका छौँ, अब बिस्तारै बिस्तारै भित्रका छलफलहरु गर्मागर्मी बनाउने र बाम एकतालाई पुनः जीवित बनाउने काममा लाग्नेछौँ ।’ जमकट्टेललाई ७० जना सांसदको समर्थनमा आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको छ । स्रोतका अनुसार जमकट्टेलले छिट्टै छिटो छरितो मन्त्रीपरिषद गठन गर्नुहुनेछ ।

यसअघि एमाले नेतृत्वको डोरमणि पौडेलको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका जमकट्टेल प्रधानमन्त्री एबम् पार्टी अध्यक्ष प्रचण्डको ‘खास मान्छे’ मानिनुहुन्छ ।

टिप्पणीहरू