कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने, महामन्त्रीद्वयले मानेनन्
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । भर्खरै सम्पन्न कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
सरकारलाई मत दिने विषयमा बैठकको निर्णयप्रति असहमत रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नोट अफ डिसेन्ट लेखेको बताइएको छ । त्यस्तै, अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि निर्णयमा फरक मत राखेका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ । आगामी राष्ट्रपति, उपराष्ट्रपति,सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।
प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिंदै हुनुहुन्छ । यसअघि सरकारलाई समर्थन नदिएका एकीकृत समाजवादी र लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेका थिए । कांग्रेससमेत विश्वासको मतको पक्षमा उभिएपछि प्रचण्ड नेतृत्वको सरकारले दुई तिहाइ सांसदको समर्थन पाउने भएको छ ।
टिप्पणीहरू