अल्टिच्युड एअरको हेलिकोप्टर प्रहरी नियन्त्रणमा, अनुमति विपरित उडान गरेको आरोप
अल्टिच्युड एअरको एउटा हेलिकोप्टरलाई प्रहरीले संखुवासभामा नियन्त्रणमा लिएको छ । भोटखोला गाउँपालिकाको हटियामा अल्टिच्युड एयरको हेलिकोप्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उडान अनुमतिअनुसार उडान नभरेको भन्दै प्रहरीले नियन्त्रणमा लिनुपरेको जनाएको छ । ‘हेलिकोप्टर निषेधित क्षेत्रमा उडेकाले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकोप्टर नियन्त्रणमा लिइएको हो,’ प्रहरी स्रोतले बतायो ।
काठमाडौंबाट गएको कुनै पनि हेलिकोप्टर निषेधित क्षेत्रमा जानुअघि जिल्ला प्रहरी कार्यालयमा अवतरण गरेर चेकजाँचपछि मात्रै उड्नुपर्नेमा अल्टिच्युडले उक्त मापदण्ड पूरा नगरेको हो । हेलिकोप्टरमा भोटखोला गाउँपालिकाको जेनेरेटर रहेको बताइएको छ ।
हेलिकोप्टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
टिप्पणीहरू