विश्वासको मतमा कांग्रेस विभाजित,पाँच सांसद विपक्षमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विभाजित भएको छ । विश्वासको मत दिनुपर्ने सभापति शेरबहादुर देउवाको प्रस्तावमा दुई महामन्त्रीसहित पाँच नेताले असहमति जनाएका छन् ।
आज बसेको पदाधिकारी, कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा सभापति देउवासहित बहुमत सदस्यहरु विश्वासको मत दिनुपर्ने पक्षमा उभिँदा दुई महामन्त्रीसहित केही प्रभावशाली नेताले असहमति जनाए । विवादकै कारण बिहान पदाधिकारी बैठकले निर्णय गर्न नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । कार्यसम्पादनमा पनि एकमत हुन नसक्दा बहुमतले विश्वासको मत दिने निर्णय गरेको छ ।
सरकारलाई मत दिने विषयमा बैठकको निर्णयप्रति असहमत रहेका महामन्त्रीद्वयले नोट अफ डिसेन्ट लेखेको बताइएको छ । त्यस्तै, अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि निर्णयमा फरक मत राखेको एक नेताले जानकारी दिए । उनका अनुसार निर्णय अनुमोदन गराउन बसेको संसदीय दलको बैठकमा सांसद प्रदिप पौडेल पनि विश्वासको मत दिने निर्णयको विपक्षमा उभिएका थिए ।
'शेरबहादुर दाइको बलमा बहुमतले विश्वासको मत दिने निर्णय गरेको हो । त्यसमा महामन्त्रीहरु, अर्जुननरसिंह केसी र प्रदिप दाइले नैतिक हिसाबले पनि विश्वासको मत दिनुहुँदैन भनेर फरक मत राख्नुभयो',ती नेताले भने । उनका अनुसार पदाधिकारी हुँदै संसदीय दलको बैठकसम्म आइपुग्दा लामो गलफती चलेको थियो ।
टिप्पणीहरू