संसदको रोष्ट्रमबाट एमाले र काँग्रेसको कटाक्ष
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनबारे दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले हिजो प्रतिनिधिसभामा बोल्दै संसद विघटन गर्नु प्रतिगमन नभएको दाबी गर्नुभएको थियो । उक्त अभिव्यक्तिको खण्डन गर्दै देउवाले संविधानको व्यवस्थाप्रति ओलीबाट चुनौती दिने काम भएकाले त्यसविरुद्ध खरो रूपमा उत्रने चुनौती आफूहरूका सामु आएको बताउनुभएको हो ।
संविधानले पूर्णप्रतिनिधि सभाको कार्यकालको कल्पना गरेकाले त्यविरुद्ध जाने कुरा संवैधानिक व्यवस्थामाथिकै अपमान हुने देउवाको भनाइ छ । संविधानको मर्म र भावनाअनुसार सबैले काम गरेर संविधानको रक्षा गर्नुपर्नेमा उहाँले जोड पनि दिनुभयो ।
देउवाले संविधानको रक्षाको प्रश्नमा प्रधानमन्त्री प्रचण्डको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ विश्वासको मत दिने घोषणा गर्नुभयो ।
लगत्तै काँग्रेसमाथि ओलीले कटाक्ष गर्नुभएको छ । उहाँले ‘माछा नभएको खोलामा जाल फ्याँकेको भए माछा पाईंदैन,’ भन्दै काँग्रेसप्रति उक्त व्यङ्ग्य प्रहार गर्नुभएको हो ।
नेकपा एमाले अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने काँग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइन भने काँग्रेसको निर्णयलाई स्वागत गर्ने बताउनुभयो । तर, त्यो निर्णय जालझेलपूर्ण भए त्यसले काँग्रेसलाई केही पनि हात नलाग्ने उहाँको भनाइ छ ।
‘काँग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यो जाल होइन भने स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यदि जाल हो भने काँग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको जस्तै हुनेछ ।’
सरकारलाई समर्थन गरेकाले काँग्रेस पनि अब सत्तापक्ष रहेको ओलीको बुझाइ छ ।
टिप्पणीहरू